×

ढाका । बङ्गलादेशको चटगाउँमा इस्कनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ ।

समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो ।

इस्कन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रवार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन् । तर बङ्गलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन । जसका कारण अन्योलको अवस्था छ ।

अर्कोतर्फ ढाका उच्च अदालतले इस्कनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बङ्गलादेशमा कट्टरपन्थी समूहहरूले शुक्रवार ठूलो हङ्गामा मच्चाएका थिए । गत शुक्रवारको नमाजपछि लाखौँ मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए ।

राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले इस्कनलाई ‘हिन्दु चरमपन्थी सङ्गठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूह भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन् ।

र्‍यालीहरूमा कट्टरपन्थी सङ्गठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक सङ्गठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए ।

Back to top