नयाँ दिल्ली । भारतको पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादवलाई लरेन्स बिश्नोई समूहबाट ज्यान मार्ने धम्की आएको छ । यसपछि उनले आफ्नो सुरक्षा व्यवस्था थप मजबुत बनाउन आग्रह गरेका छन् ।
सांसद यादवले यस विषयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै आफ्नो वर्तमान ‘वाई श्रेणी’ सुरक्षा बढाएर ‘जेड श्रेणी’ गर्न माग गरेका छन् । उनले यस सम्बन्धमा उच्च प्रहरी अधिकारीहरूलाई समेत जानकारी गराएका छन् ।
सांसद यादवले गृहमन्त्री शाहलाई लेखेको पत्रमा उनले भनेका छन्, “म र मेरो परिवारमाथि विभिन्न आपराधिक समूहहरू, विशेष गरी नेपालका माओवादी सङ्गठनलगायतले पटक-पटक आक्रमण गरेका छन् । भगवान्को कृपाले मैले ती सबैबाट बच्न सफल भएँ ।”
पत्रमा उनले अगाडि लेखेका छन्, “२०१५ मा नेपालका माओवादी सङ्गठनले मलाई धम्की दिएपछि केन्द्रीय गृह मन्त्रालयले ‘वाई प्लस (थ्रेट)’ सुरक्षा प्रदान गरेको थियो । तर, २०१९ मा मेरो सुरक्षा घटाएर ‘वाई श्रेणी’ मा झारिएको थियो । यही सुरक्षा कमीको फाइदा उठाउँदै केही अपराधीहरूले मलाई फेसबुकमा गालीगलौज गर्दै घरमै आएर ज्यान मार्ने धम्की दिएका छन् ।” यस घटनाबारे उनले गृह मन्त्रालयलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको गुनासो व्यक्त गरेका छन् ।
लरेन्स बिश्नोई समूहले उनलाई हालै फेरि ज्यान मार्ने धम्की दिएपछि उनले केन्द्रीय र बिहार राज्य सरकारप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । उनले भनेका छन्, “यस्तो गम्भीर धम्की आए पनि मेरो सुरक्षाका लागि राज्य र केन्द्र सरकार दुवै निष्क्रिय देखिएका छन् । लाग्छ, मेरो हत्या भएपछि मात्र शोक व्यक्त गर्न यी निकाय सक्रिय हुनेछन् ।”
सांसद यादवले आफ्नो सुरक्षालाई ‘वाई श्रेणी’ बाट ‘जेड श्रेणी']’ मा उकास्न र बिहारका विभिन्न जिल्लामा कार्यक्रमका बेला अतिरिक्त सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छन् । उनले समयमै सुरक्षा नपाए आफूलाई हुने कुनै पनि क्षतिको जिम्मेवारी राज्य र केन्द्रीय सरकारको हुने चेतावनी पनि दिएका छन् ।
धम्कीको मुद्दामा बिहारका उच्च अधिकारी र भारतको गृह मन्त्रालयको तर्फबाट आवश्यक कदम चालिने अपेक्षा सांसद यादवले गरेका छन् ।