आफ्नो छाला सधैं सफा, चम्किलो र उज्यालो होस् भन्ने हरेक मान्छेको चाहना हुन्छ । यसलाई पाउन धेरै मानिसहरू महँगा सौन्दर्य सामग्री प्रयोग गर्छन् ।
अनि केही मानिस घरेलु उपाय अपनाउँछन् । यस्तै लोकप्रिय घरेलु उपायमध्ये एक हो, अनुहारमा दहीको प्रयोग । तर के दही वास्तवमै छालाका लागि लाभदायक हुन्छ ? आजको यस लेखमा हामी यसैबारे चर्चा गर्नेछौं ।
दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालाको मृत कोशिका हटाउन (हल्का एक्सफोलिएसन) मद्दत गर्नुका साथै छालालाई मोइश्चराइज पनि गर्छ । यसले छालालाई मुलायम बनाउँछ, ट्यान कम गर्छ र अनुहारलाई प्राकृतिक रूपमा उज्यालो देखाउन सहयोग गर्न सक्छ । यद्यपि धेरै तेलयुक्त (ओइली) वा एक्ने आउने छाला भएकाहरूले फुल–फ्याट दहीको सट्टा लो–फ्याट दही प्रयोग गर्नु उपयुक्त हुन्छ ।
अनुहार कसरी लगाउने दही ?
१. दही र काँक्रोको फेस प्याक
कोरेर मसिनो पारेको काँक्रोमा दही मिसाएर बाक्लो लेदो तयार गरी अनुहारमा लगाउने । केही समयपछि चिसो पानीले धुँदा छालाले ताजगी र शीतलता महसुस गर्न सक्छ ।
२. दही र बेसारको फेस मास्क
एउटा कचौरामा दही हाल्नुहोस् । यसमा आधा चम्चा बेसार मिसाएर अनुहार र घाँटीमा पातलो तह लगाउनुस् । यसले छालालाई ताजा र उज्यालो देखाउन सहयोग गर्न सक्छ ।
३. दही र महको फेस प्याक
एक्नेको समस्या भएकाहरूले लो–फ्याट दहीमा एक चम्चा मह मिसाएर प्रयोग गर्न सक्छन् । यसले छालामा मोइश्चर कायम राख्नुका साथै हलुका हिल गर्न मद्दत गर्न सक्छ ।
४. दही र पाकेको मेवाको मास्क
पाकेको मेवालाई मज्जाले मिचेर त्यसमा दही मिसाएर बाक्लो पेस्ट बनाउनुहोस् । यो पेष्टलाई ब्रसको सहायताले अनुहारमा राम्ररी लगाउनुहोस् । यसले छालालाई मुलायम र स्वस्थ देखाउन सहयोग गर्छ ।
फेस प्याक लगाएपछि के गर्ने?
फेस प्याक लगाएपछि केही समय यसलाई अनुहारमा त्यत्तिकै रहन दिनुहोस् । सुकेपछि यसलाई चिसो पानीले राम्ररी धुनुहोस् । त्यसपछि छालाको नमी कायम राख्न मइस्चराइजर लगाउनु उत्तम हुन्छ ।
तर ध्यान दिनु पर्ने कुराहरूः
दही सही तरिकाले प्रयोग गर्दा छालालाई नमी र हल्का प्राकृतिक चमक दिन मद्दत गर्न सक्छ । तर सबैको छालाको प्रकार फरक हुने भएकाले कुनै पनि घरेलु उपाय अपनाउनुअघि आफ्नो छालाको अवस्था बुझ्न आवश्यक छ ।
छाला अत्यधिक संवेदनशील छ वा कुनै छालासम्बन्धी समस्या छ भने घरेलु उपाय प्रयोग गर्नुअघि छाला विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।