मुम्बई । बलिउड अभिनेता सलमान खान र महाराष्ट्रका एनसीपी नेता जिशान सिद्दिकीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट २० वर्षीय मोहम्मद तैयब नामका युवकलाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, निर्मल नगर प्रहरीका एक अधिकारीले जनाएअनुसार जिशान सिद्दिकीको हेल्पलाइन नम्बरमा फोन गरी सलमान र जिशानलाई मार्ने धम्की दिइएको थियो । प्रहरीले आरोपितलाई थप अनुसन्धानका लागि मुम्बई ल्याइसकेको छ ।
थप जानकारी अनुसार, केही समयअघि जिशान सिद्दिकीका पिता बाबा सिद्दिकीको मुम्बईको बान्द्रा इस्ट क्षेत्रमा गोली प्रहारबाट हत्या भएको थियो ।
बाबा सिद्दिकी करिब ४८ वर्षसम्म कंग्रेस पार्टीमा आवद्ध रहेर यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार समूह) मा प्रवेश गरेका थिए । बाबुको निधनपछि उनका छोरा जिशान पनि हालै कंग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका छन् ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ ।