×

नयाँ दिल्ली । तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि  पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रवार भारी वर्षा भएको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।

करिब १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै  बिजुलीका तारहरूमा क्षति पुर्‍याएको जनाइएको छ । चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्‍याइ  प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ । यद्यपि अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तर पश्चिमतर्फ बढ्ने र आगामी पाँच  घण्टामा बिस्तारै कमजोर हुने सम्भावना छ । 

चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाई तथा रेल सेवाहरू शुक्रवार बिहान देखि पुनः सुरु भएको  अधिकारीहरूले जनाएका छन् ।

प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी  विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।  

Back to top