×

ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटवार्ता गरेका छन्। यो क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति भएका छन्।

बैठकपछि भारतीय प्रधानमन्त्री मोदीले भारत–चीन सम्बन्ध विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको स्पष्ट पारे। मोदीले भने‚ ‘हामी खुलेर कुरा गर्‍यौँ। ५ वर्षपछि भेट भयो। हाम्रो सम्बन्ध विश्वका लागि महत्त्वपूर्ण छ। एक अर्काबीच सम्मान हुनुपर्छ। सीमा विवादमा सहमतिको स्वागत छ।’

भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सीलाई भेट्न पाउँदा खुसी लागेको बताए। उनले भने‚ ‘हामी विश्वास गर्छौं कि भारत-चीन सम्बन्धको महत्त्व हाम्रा जनताका लागि मात्र होइन‚ विश्व शान्ति, स्थिरता र प्रगतिका लागि पनि अत्यावश्यक छ।’

मोदी–सी भेटवार्ता सीमामा गस्ती हटाउने र बन्द गर्ने सहमतिको पृष्ठभूमिमा भएको हो। यसमा दुवै नेताले खुसी व्यक्त गरेका छन्।

मोदीले भने‚ ‘सीमासँग सम्बन्धित विवादले हामी शान्ति र स्थिरतालाई असर गर्न चाहँदैनौं।’

दुवै नेताले सीमा विवादमा भारत र चीनका विशेष प्रतिनिधिले महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूले विशेष प्रतिनिधिलाई छिट्टै भेट्न आग्रह गरेका छन्। भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल विशेष प्रतिनिधि छन्।

मोदी

प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ताका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा पोष्ट गरेका छन्।

'कजान ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङसँग भेट भयो। भारत-चीन सम्बन्ध हाम्रा देशका जनता र क्षेत्रीय तथा विश्वव्यापी शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ। आपसी विश्वास, आपसी सम्मान र आपसी संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ।’

सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटमा भने‚ ‘दुवै पक्षका लागि अझ बढी सञ्चार र सहयोग गर्नु, हाम्रा मतभेद र असहमतिलाई उचित रूपमा सम्हाल्नु र एकअर्काको विकास आकांक्षा पूरा गर्नु महत्त्वपूर्ण छ।’

दुवै पक्षले अन्ताराष्ट्रिय जिम्मेवारीहरू पूरा गर्न, विकासशील देशहरूको शक्ति र एकता प्रवर्धन ​गर्न र बहुध्रुवीकरण र लोकतन्त्र वृद्धिमा योगदान दिनु  अत्यावश्यक भएको सीको भनाइ छ।

रूसको कजान शहरमा सम्पन्न बैठकमा ५ वर्षपछि मोदी र सीबीच भेटवार्ता भएको हो। सन् २०२० मा  पूर्वी लद्दाख सीमा विवादमा दुई देशका सैनिकबीच भिडन्त भएपछि यो पहिलो द्विपक्षीय बैठक हो।

Back to top