×

तस्बिर : स्वर्गीय विनय यादवको फेसबूकबाट ।

वीरगञ्ज । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

गए राति जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने मिलिला नगरपालिका – ६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवालेले जानकारी दिए ।

‘गए राति करिब ३ बजे यादव आफैँले चलाएका मधेस प्रदेश ०२- ००६ नम्बरको मोटरसाइकल ढल्केवरबाट जनकपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो,’ डिएसपी अवालेले भने, ‘प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएको थियो । उपचारकै क्रममा मङ्गलवार बिहान पौने ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।’

२८ वर्षीय यादवको घर धनुषाकै धनुषाधाम नगरपालिका – ५ मा पर्छ । उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे । एक वर्षअघि मात्रै उनले विवाह गरेका थिए । उनी जनकपुरबाट सञ्चालन हुँदै आएको ई–न्युज ब्युरो डटकमका कार्यकारी सम्पादक थिए । 

दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम – ५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन् । उनी मोटरसाइकलको पछाडि सवार थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढल्केवरमा राति साथीलाई भेटेर जनकपुर फर्किँदै गर्दा यादवले चलाएको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यादवको शव शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डिएसपी अवालेले बताए ।

Back to top