×

फाइल तस्बिर ।

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना महिलासँग दुर्व्यवहार गरेको आरोप लागेको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए अगन्ध चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

चौरसियाविरुद्ध दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले चौरसिया प्रहरी हिरासतमा रहेको पुष्टि गरे । एसपी ढुङ्गेलले यात्रा डेलीसँग भने, ‘चौरसियामाथि केटीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको भरमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसमा खासै बलियो र पुष्ठि हुने प्रमाण भने पाइएको छैन । अनुसन्धान भइरहेको छ, पुष्ठि भएमा कानुनअनुसार कारवाही हुनेछ भने पुष्ठि नभए २४ घण्टापछि चौरसियालाई  हिरासतमा राख्न मिल्दैन ।’

पीडित भनिएका छात्राहरूका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् । विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित एक छात्राले यात्रा डेलीलाई बताइन ।

प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’

Back to top