×

वीरगञ्ज । वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुराँ सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्वकै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको हो । 

नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केएफसी सञ्चालनमा ल्याएको हो । 

स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको केएफसी रेस्टुराँले विभिन्न परिकारका स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने मलकी सह-सञ्चालिका आशिमा अग्रवालको विश्वास छ । आशिमा अग्रवालका अनुसार केएफसीमा हट एण्ड क्रिस्पी चिकेनदेखि लिएर स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, र जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछन् । साथै केएफसीको प्रख्यात केएफसी बकेट पनि पाइने आशिमा अग्रवालले बताइन् । 

केएफसी वीरगञ्जको यही साताभित्र भव्य तरिकाले उद्घाटन गर्ने तयारी भइरहेको आशिमा अग्रवालको भनाई छ । उद्घाटनको अवसरमा विशेष अफर र प्रमोसनहरू पनि उपलब्ध हुने आशिमा अग्रवालले यात्रा डेलीलाई जानकारी दिइन् । रेस्टुराँले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । केएफसी रेस्टुरेन्ट बिहान १० बजे देखि राति १० बजेसम्म खुल्ला रहने जनाइएको छ ।

स्काइलाइन मलमा केएफसीसँगै विभिन्न परिकारका पिज्जाका लागि विश्व प्रख्यात “पिज्जा हट”, आइसक्रिमका लागि चर्चित ब्रान्ड “क्रिम बेल” पनि छिट्टै सञ्चालनमा आउने मलका आशिमा अग्रवालले बताइन । उनले केही दिन भित्रै केएफसी, पिज्जा हट र क्रिम बेलको एकै पटक एक भव्य समारोहका बिच उद्घाटन गरिने पनि जानकारी दिइन् ।

मलमा झन्डै ६ महिनादेखि नेपालकै सबैभन्दा लोकप्रिय सिनेमा हल क्यूएफएक्स पनि सञ्चालित छ । त्यस्तै केही दिन भित्रै मलमा विश्व चर्चित होटेल चेन सरोभर पोर्टीको पनि खुल्ने तयारी भइरहेको आशिमा अग्रवालले बताइन् ।

Back to top