×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ । केन्द्रमा पार्टी विभाजन भए लगत्तैको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको बैठक बोलाएका छन् ।

यादवले अहिले बिहान ८ बजे मधेश भवनमा बस्नेगरी आकस्मिक बैठक बोलाएका हुन् । मधेशमा जसपा नेतृत्वको सरकार छ । जसपासँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ । मधेश प्रदेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा ६१ सांसद पक्षमा उभिएका थिए ।

जसमा जसपाका १९ सांसद छन् । जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन । नयाँ राजनीतिक परिस्थिति अनुसार उपेन्द्रले मधेशमा कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्था छ ।

Back to top