×

फाइल तस्बिर ।

वीरगञ्ज । जसपा नेपालका प्रतिनिधि सभा सदस्य (सांसद) दीपक कार्कीले आफू अध्यक्ष उपेन्द्र यादवकै समर्थनमा रहेको बताएका छन् ।

सङ्घीय सरकारका वन तथा वातावरण राज्य मन्त्री समेत रहेका कार्कीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

सोमबार कार्कीको सचिवालयले एक प्रेस विज्ञप्ति नै जारी गरेर कार्की अध्यक्ष उपेन्द्र यादव पक्षतिर रहेको जनाएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ – “माननीय दीपक कार्कीको बारेमा विभिन्न सञ्चारमाध्यमका समाचार मार्फत भइरहेका भ्रामक खबरप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उहाँ जनता समाजवादी पार्टीको संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भनेझैँ कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।”

यसअघि आइतबार जसपा नेपालका अशोक राई , प्रदीप यादवसहितका सात जना सङ्घीय सांसदले पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । नयाँ दल दर्ता गराएका सांसदहरूले सांसद कार्की पनि आफूहरूको साथमा रहेको बताएका थिए ।

Back to top