×

वीरगञ्ज । ‘तुम्हारे सहरका मौसम बडा सुहाना लगे, मै एक साम चुरालु अगर तुम्हे बूरा ना लागे ।’ (तिम्रो सहर त निक्कै मनमोहक पो भएछ, म त्यहाँको एक रात चोर्न चाहन्छु यदि तिमीलाई नराम्रो लाग्दैन भने ।) – यो सायरी गत माघ तेस्रो साता वीरगञ्ज आएर फर्किएका विराटनगरका इन्जिनियर सरोजानन्द मिश्रले वीरगञ्जका राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई मोबाइलमा सायरी लेखेर पठाएका थिए । गत शनिवार वीरगञ्जमै आयोजित एक कार्यक्रममा चन्द्रकिशोरले विराटनगरका मिश्रले पठाएको उक्त सायरी कार्यक्रममा सहभागीहरूलाई सुनाए ।

हुन त मुलुकको प्रमुख आर्थिक नगरी वीरगञ्जलाई दुई चार वर्षअघि सम्म फोहोर र मच्छड (लामखुट्टे) को सहर पनि भनिन्थ्यो । त्यस बेला बदनाम वीरगञ्जले मच्छडगञ्जको उपनाम पनि पाएको थियो । तर आज अवस्था बिलकुल फरक छ । वीरगञ्जले मुहार फेर्न थालेको छ । विराटनगरका इन्जिनियर झा जस्तै बाहिरबाट वीरगञ्ज आउनेहरूले भन्छन् ,‘ आहा वीरगञ्ज त कति सफा पो भएछ ।’

दुई तीन वर्षअघि सम्म वीरगञ्जको मेन रोडमै फोहोर र नालाको दुर्गन्धका कारण नाकै थुनेर हिँड्नु पर्ने बाध्यात्मक अवस्था थियो बटुवाहरूलाई । तर अहिले त्यो बाध्यता छैन । वीरगञ्जका मुख्य सहरी क्षेत्रका सडक स्वच्छ र सफा देखिन्छन् । महानगरले विरासतमा पाएका धार्मिक र पर्यटकीय सम्पदाहरू सौन्दर्यीकरण गरेर आकर्षक पारिएको छ । बाहिरबाट आउनेहरूका लागि ती सम्पदाहरू अहिले फोटो खिच्ने र खिचाउने सेल्फी स्पोट बनेका छन् ।

वीरगञ्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको झन्डै २२ महिना पुगेको छ । त्यस यता महानगरको नेतृत्वले वीरगञ्जलाई ‘वैभव वीरगञ्ज’ बनाउने नारा लिएर सहरको सरसफाइ र सौन्दर्यीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । त्यसैको नतिजा हो अहिलेको स्वच्छ र सफा वीरगञ्ज ।

कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घना बस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगञ्ज सहर अहिले सफा र व्यवस्थित सहरको रूपमा परिवर्तन हुँदै गएको छ । यसका लागि महानरको नेतृत्वले कतिपय सन्दर्भमा निर्मम निर्णयहरू पनि लिएको छ ।

सडक, नाला वा खाली जग्गामा जथाभाबी फोहोर फाल्ने विरुद्ध १५ महिनादेखि वीरगञ्ज महानगरपालिकाले आर्थिक जरिवाना तराउने अभियान चलाएको छ । यो १५ महिनाको अवधिमा जथाभाबी फोहोर फाल्ने झन्डै १ हजार जना आर्थिक कारबाहीमा परिसकेका छन् । महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, १५ महिनाको अवधिमा (२०७९ पुस १७ देखि २०८० चैत ३० सम्म) जथाभाबी फोहोर फाल्ने ९ सय ९२ जनालाई कारबाही गरी जरिवाना तिराइएको छ । २ सय ६५ वटा संस्था र ७ सय २७ जना व्यक्तिलाई जरिवाना गरी त्यसबापत २७ लाख ८१ हजार १०५ रुपैयाँ राजश्व सङ्कलन पनि गरिएको मियाँले बताए ।

मियाँले भने, ‘जथाभाबी फोहोर फाल्ने प्रवृत्ति रोक्न सुरुका चरणमा हामीले टोल टोलमा पुगेर सचेतनामूलक कार्यक्रम गयौँ । तर त्यसले काम नगरेपछि २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना नै तिराउन थाल्यौ । जसका कारण अहिले जथाभाबी फोहोर फाल्ने प्रवृत्तिमा निक्कै कमी आएको छ । अनि सहर पनि पहिलेको भन्दा अहिले निक्कै सफा र स्वच्छ पनि देखिन थालेको छ ।

महानगरले हरेक वडामा बिहान र साँझ गरी दुई चरणमा गरेर घर, पसल वा संस्थाका फोहोर सङ्कलनका लागि ट्याक्टर र दुई पाङग्रे ठेला पठाउने गरेको जानकारी पनि उनले गराए । यसका साथै सडकका कसिङ्गर लगायतका सुख्खा फोहोर सफाइ गर्नका लागि बिहान र बेलुकी गरी दुई समयमा सडकमा झाडु पनि लगाउने गरिएको उनले बताए । महानगरका नाला र ढल सफाइ पनि नियमित रूपमा भइरहेको जानकारी पनि उनले दिए । वीरगञ्जमा वर्षाका बेला ढलको पानीले हुने डुबानको समस्या निराकरणका लागि यस वर्ष वर्षा सुरु हुनु अगावै करिब ९ किलोमिटर ढल पूर्ण रूपमा सफा गरिएको भन्दै मियाँले ढल र ठूला नालामाथि बनाइएका संरचनाहरू भत्काइएको बताए ।

वीरगञ्जलाई धार्मिक पर्यटनको हब बनाउने मेयर सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौँदेखि ओझेलमा रहेका ऐतिहासिक मठमन्दिरहरूको महानगरपालिकाले सौन्दर्यीकरण गरेको छ । वीरगञ्जकै प्रमुख शक्ति पीठ गहवामाई मन्दिर र मन्दिर प्राङ्गणको स्तरोन्नति र सौन्दर्यीकरण गरी आकर्षक बनाइएको छ । यस्तै मन्दिर प्राङ्गणमा रहेका पुराना संरचना हटाएर पार्क जस्तै फराकिलो र खुल्ला बनाइएको छ । यस्तै काठमाडौँको पशुपतिनाथ मन्दिर जस्तै रहेको वीरगञ्ज चिनी मिल परिसरको झन्डै चार दशक पुरानो पशुपतिनाथ मन्दिरको पनि सौन्दर्यीकरण गरी नियमित पूजापाठ सुरु गरिएको छ ।

वीरगञ्ज – १० घडिअर्वामा तीन दशक बढी समयदेखि एक व्यक्तिको निजी कब्जामा रहेको श्रीराम जानकी मन्दिर महानगरले आफ्नो स्वामित्वमा ल्याएर स्तरोन्नति र सौन्दर्यीकरण गरेको छ । उक्त मन्दिरमा भारत अयोध्याको नवनिर्मित राम मन्दिरको समुद्घाटन गरिएकै दिन गत माघ ८ गते भगवान् श्रीराम, माता सीता र भगवान् हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।त्यहाँ हरेक साँझ हुने आरती र पूजापाठमा सयौँको सहभागिता हुँदै आएको छ ।

वीरगञ्ज – १४ पिपरामा रहेको झन्डै १३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको पुनर्निर्माण र सौन्दर्यीकरण लागि ५० करोड रुपैयाँ विनियोजन गरेर काम पनि सुरु गरिसकिएको मेयर सिंहले जानकारी दिए । यस्तै वीरगञ्ज – १९ विन्दवासिनीमा रहेको विन्दवासिनी माईको मन्दिर पुनर्निर्माण र स्तरोन्नतिका लागि डिपिआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको भन्दै सिंहले छिट्टै काम सुरु गरिने बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जको इनरुवामा रहेको ऐतिहासिक शंकरचार्य प्रवेशद्वारको पनि सौन्दर्यीकरण गरिएको छ । यस्तै वीरगञ्जको पहिचानको रूपमा स्थापित घण्टाघरको रङ्ग रोगन र विद्युतीय बत्तीले सजाइएको भने घण्टाघर परिसरभित्रै वाटर फाउन्टेन जडान गरी अझ आकर्षक बनाइएको छ । यस्तै वीरगञ्ज – १४ गण्डकमा रहेको सहिद तेज बहादुर अमात्यको सालिक परिसरको पनि रङ्ग रोगन गरी त्यहाँ पनि वाटर फाउन्टेन जडान गरिएको छ । शलिक परिसरकै छेउको खाली जग्गामा विद्युतीय सौन्दर्यीकरण गरेर सेल्फि स्पोट निर्माण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले ‘उज्यालो अभियान’पनि चलाएको छ । जसका कारण वीरगञ्ज सहर रातिको समयमा झिलिमिली देखिन्छ । अभियानअन्तर्गत महानगरका ३२ वटै वडामा गरी हालसम्म १३ हजार ३ सय २२ वटा विद्युत्को पोलमा बत्ती जडान गरिएको छ । यस्तै महानगरको सहरी क्षेत्रमा रहेका ४ सय ५० वटा पोलमा स्ट्रिपी लाइट (रङ्गिन बत्ती) लगाइएको महानगरका इन्जिनियर राजीव उपाध्यायले जानकारी दिए । यसका अतिरिक्त महानगरपालिका आफैँले दुई फरक फरक स्थानमा हाई मास्ट लाइट पनि जडान गरेको उपाध्यायले बताए । वीरगञ्ज सहरलाई झिलिमिली बनाउनका साथै रात भरी उज्यालो राख्न महानगरले ‘उज्यालो अभियान’ कार्यक्रम चलाएको उनले बताए ।

वीरगञ्ज सहरलाई ‘हरित सहर’ बनाउने अभियान अन्तर्गत सहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँमा वृक्षारोपण पनि गरिएको छ । महानगरका विभिन्न स्थानका सडकका डिभाइडर र सडकका दायाँबायाँमा गरी हालसम्ममा गरी १३ हजार ५०० वटा बिरुवा रोपिएको महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका वन प्राविधिक दशरथ रौनियारले बताए । उनका अनुसार, घण्टाघरदेखि पावर हाउस चोक, घण्टाघरदेखि बसपार्क सम्मको लिङ्क रोड , रजत जयन्ती चोकदेखि प्रतिमा चोक हुँदै गण्डक चोक, पिपराको लिङ्क रोड र शङ्कराचार्य प्रवेशद्वारदेखि भन्सार क्षेत्रसम्म विभिन्न प्रजातिका बोटबिरुवा र फूल रोपिएको हो ।

यस्तै वीरगञ्जका अर्को एक पर्यटकीय गन्तव्य स्थलका रूपमा वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज १९ मा ५० करोड रुपैयाँको लागतमा कृत्रिम ताल बनाउने प्रक्रिया थालिसकेको छ । तिलावे जल पर्यटक क्षेत्र परियोजनाअन्तर्गत वीरगञ्ज – १९ स्थित तिलावे नदी छेउको २५ बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाउने प्रक्रिया थालिसकिएको इन्जिनियर प्रकाशमान अमात्यले जानकारी दिए । उनका अनुसार त्यसका लागि डिपीआर तयार भइसकेको र तीन वर्षभित्रमा ताल निर्माण हुने लक्ष्य लिएर काम अगाडि बढाइएको छ ।

महानगरमा जनप्रतिनिधिको नयाँ नेतृत्व आएको करिब दुई वर्ष यता सहरको सरसफाइ, सौन्दर्यीकरण, धार्मिक मठमन्दिरको स्तरोन्नति लगायतका क्षेत्रमा भएका कामले दुई वर्ष पहिलेको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै सकारात्मक परिवर्तन आएको स्थानीय बासी बत्ताउँछन् ।

वीरगञ्ज – १४ निवासी समेत रहेका राजनीतिक विश्लेषक चन्द्र किशोर भन्छन्, ‘जब देखि वीरगञ्ज महानगरमा नयाँ नेतृत्व आयो त्यस यता केही कामहरू निक्कै राम्रा भएका छन् । जस्तो कि सरसफाइको अवस्थामा निक्कै सुधार आएको छ । यस्तै वीरगञ्जले विरासतमा पाएका घण्टाघर, शङ्कराचार्य गेट , गहवामाई मन्दिर, पशुपतिनाथ मन्दिर लगायतका ऐतिहासिक सम्पदाहरूको सौन्दर्यीकरण गरिएको छ । अहिले कोही पनि वीरगञ्ज आउँछ भने उसले ती सम्पदामा पुगेर सेल्फी र फोटो खिच्छ ।’

वीरगञ्जका मेयरले वीरगञ्जलाई धार्मिक पर्यटनको हब बनाउने घोषणा गरेर काम गरिरहेका छन् । ‘वैभव वीरगञ्ज’को नारा दिएका छन् । यी नारा जनजिब्रोमा बसिसकेको भन्दै चन्द्र किशोर भन्छन्, ‘नेतृत्वमा बसेको एक जना व्यक्ति मात्रले यदि गर्न चाह्यो भने धेरै कुरामा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उक्तिलाई अहिलेका मेयर राजेशमानको कामले पुष्टि गरिदिएको छ ।’

(यो समाचार क्रान्ति साहले अन्नपूर्ण पोस्ट दैनिकमा लेखेका छन् ।)

Back to top