वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट मालसामान ढुवानीमा करीब १ दशकदेखि भारतीय कम्पनीको रजगज चलिरहेको छ । नेपालको नियम, कानूनको नियमनभन्दा बाहिर रहेको कम्पनीले बन्दरगाहमा वर्षेनि करोडौं रुपैयाँको कारोबार गरिरहेको छ । सरोकारवाला निकाय यसबारे बेखबरजस्तै छन् ।
सरकारी स्वामित्वकै कृषि सामग्री कम्पनी र साल्ट टे्रडिङ कर्पोरेशन लिमिटेडले भित्त्याएको रासायनिक मल ढुवानीमा यो बेथिति देखिएको हो । नेपालका कुनै पनि निकायमा दर्ता नरहेको भारत, मोतिहारीको किसान ट्रेडर्सले ड्राइपोर्टबाट यसरी ढुवानी गरिरहेको छ ।
यसबारे कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका उच्च अधिकारीहरू जानकार छन् । उनीहरूले यो अवैध कारोबारप्रति आँखा चिम्लिएको भेटिएको छ । सरकारले ग्लोबल टेन्डरमार्फत आयात गर्ने मलखाद भारतका विभिन्न बन्दरगाह हुँदै ड्राइपोर्टसम्म आइपुग्छ । त्यहाँ अनलोड भएको मलखाद स्थानीय ढुवानीकर्ताले कृषि सामग्री र साल्ट ट्रेडिङको गोदामसम्म पुर्याउँछन् ।
ड्राइपोर्टबाट अन्य दुईओटा नेपालका कम्पनीले पनि ढुवानी गर्छन् । यी कम्पनीले आफ्नो कारोबारमा सरकारलाई मूल्य अभिवृद्धिकर र नियमअनुसार आयकर तिर्छन् । किसान ट्रेडर्सले भने यस्तो कुनै कर तिर्दैन । सरकारी निकायमा दर्ता नै नभएकाले सरोकारवाला सरकारी निकायले न त्यो कम्पनीलाई चिन्छन्, न नियमनको दायरामा ल्याउन सक्छन् । कुनै पनि निकायको रेकर्डमै नरहेको यो कम्पनीले निर्बाध व्यवसाय चलाइरहेको छ ।
ग्लोबल टेन्डरमार्फत मल आपूर्तिको जिम्मा लिएको इन्डियन पोटास लिमिटेड (आईपीएल)को स्थानीय ढुवानीकर्ताका रूपमा किसान ट्रेडर्सले व्यवसाय गरिरहेको छ । किसान ट्रेडर्सका सञ्चालक शिवपूजन गुप्ता भारतीय नागरिक हुन् । यो कम्पनी भारतको मोतिहारी क्षेत्रका लागि आईपीएलको स्थानीय वितरक र एजेन्ट पनि हो ।
साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछाने आईपीएललाई गोदामसम्म ढुवानीको जिम्मा दिइएकाले ड्राइपोर्टबाट कसले ढुवानी गर्छ भन्ने विषयमा अहिलेसम्म खासै सरोकार नराखिएको बताउँछन् । ‘हाम्रो गोदामसम्म ढुवानी गरिदिने जिम्मा आपूर्तिकर्ताकै हुन्छ । बीचमा ककसले काम गरेका छन्, त्यो हामीलाई उतिसारो सरोकार हुँदैन,’ उनले भने ।
किसान टे्रडर्सले ड्राइपोर्टबाट ढुवानी गरेको मलखादको परिमाण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा भरपाइ गराउँछ । त्यही भरपाइका आधारमा यी निकायले अपूर्तिकर्ता आईपीएललाई भुक्तानी गर्छन् ।
किसानले स्थानीय ढुवानीका साधन सञ्चालकमार्फत ढुवानी गराउँछ । यो कम्पनीले ढुवानी भाडा नगदमै दिन्छ । भारतीय कम्पनीले वर्षेनि करोडौं रुपैयाँ भुक्तानीका लागि रकम ल्याउने माध्यम र स्रोत पनि शंकास्पद रहेको ढुवानी व्यवसायी बताउँछन् । वीरगञ्जमा किसान ट्रेडर्सको कारोबार सम्हालेका राकेश श्रीवास्तवसँग यसबारे सोध्दा उनले ‘आफू काम गर्ने कर्मचारीमात्र भएकाले धेरै कुरा थाहा नहुने,’ बताए ।
आईपीएलले ड्राइपोर्टबाट मलखाद ढुवानी गर्ने ढुवानीकर्ता कम्पनीबारे कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई औपचारिक रूपमै जानकारी गराएको हुन्छ । त्यसैका आधारमा कृषि सामग्री र साल्ट ट्रेडिङले ड्राइपोर्टमा यसको लिखित जानकारी पठाएका हुन्छन् । दुवै सरकारी स्वामित्वका कम्पनीले ढुवानीकर्ता भारतीय कम्पनीको आधिकारिताबारे प्रश्नसमेत नगर्नु शंकास्पद भएको ढुवानीकर्ता बताउँछन् ।
कृषि सामग्री कम्पनी मधेश प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी पुरुषोत्तम सिंह आफूलाई यसबारे धेरै जानकारी नभएको बताउँछन् । ‘आईपीएलले नै ढुवानी गर्ने प्रतिनिधि तोकेर पठाएको हुन्छ । यो सबै केन्द्र (कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालय) ले नै तय गरेर पठाउने हो । उतै सोध्नुभए राम्रो होला,’ उनले भने ।
कृषि सामग्रीका खरीद प्रमुख राजेन्द्रबहादुर कार्की भने आईपीएलले आपूर्तिको जिम्मा लिएकाले ऊ (आईपीएल) बाहेक अरूलाई नचिन्ने बताउँछन् । ‘किसान ट्रेडर्स सामान बुझाउने प्रतिनिधि मात्रै हो । यो पहिलेदेखिकै चलन हो । करछली भएको र यसबाट राज्यलाई हानिनोक्सानी भएको कुरा अहिलेसम्म ‘नोटिस’मा आएको थिएन । अब भोलिका दिनमा त्यसअनुसार कुरा अगाडि बढाउँछौं,’ उनले भने ।
भारत सरकारको स्वामित्व रहेको आईपीएल र दुबईमा केन्द्रीय कार्यालय रहेको स्वीस सिंगापुरले मल आपूर्तिको ठेक्का पाएका थिए । साभार : आर्थिक अभियान