×

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीको विवाद चुलिएर फुटको सङ्घारमा पुगेको छ । वरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष महन्त ठाकुरसँग विद्रोह गरी नयाँ पार्टी खोल्ने कि पुरानै दल सद्भावना ब्युँताउने भनेर आफूनिकट नेता तथा कार्यकर्तासँग छलफलमा जुटेका छन् । उनले जिल्लाबाहिर जाने कार्यक्रम रोकेर पुरानो बानेश्वरस्थित निवासमा रणनीति तयार गरिरहेका छन् ।

आइतबार बसेको लोसपाको केन्द्रीय समितिको बैठक बहिष्कार नेता महतोले ठाकुरसँग पार्टीबाट ‘कित्ताकाट’ गरेर बाहिरिने छनक दिइसकेका छन् । पुराना नेताहरूलाई अध्यक्ष ठाकुरले केन्द्रीय सदस्य नबनाएपछि ठाकुर र महतोबिच दुई महिना अघिदेखि खटपट सुरु भएको लोसपाका महासचिव केशव झाले बताए ।  उनले भने, ‘पुराना नेतालाई केन्द्रीय सदस्य बनाउने सहमति थियो । तर, त्यो लागु नगरेर अध्यक्षजीले गम्भीर त्रुटि गर्नुभएको हो कि जस्तो लागेको छ ।’

पुराना नेतालाई किनारा लगाउनु नै लोसपा फुट्नु मुख्य कारण हो । पार्टी गठन भएको दुई वर्ष नबित्दै लोसपाका पहिलो र दोस्रो तहका नेताहरूबिचको तीव्र असन्तुष्टि सतहमा आएको केन्द्रीय सदस्य पीताम्बर महतोले जनाए । यसले लोसपा पार्टी बाल्यकालमै फुटको सङ्घारमा पुग्न बल पुगेको उनले बताए । यसअघि पार्टीको नेतृत्व सम्हालेर आएका नेता महतोले ठाकुरको कार्यशैलीदेखि सुरुदेखि नै रुष्ट छन् । नेता महतोले नयाँ पार्टी बनाउन लागेको हो ? भन्ने प्रश्नमा उनका निकट अर्का नेता अनिल महासेठले भने, ‘त्यो अहिले नै भन्न सक्ने अवस्था छैन ।’

अध्यक्ष ठाकुरले मधेसवादलाई कमजोर पारेको नेता महतोको ठहर छ । ‘महन्तजीले पार्टी भित्र एक्सिडेन्ट होस् भन्ने पहिलेदेखि नै चाहनुभएको छ । उहाँले त्यो व्यवहार देखाउँदै आउनुभएको छ’, लोसपाका एक केन्द्रीय सदस्यले भने, ‘यसले पार्टी भित्रै नेता महतो हेपिएको महसुस गरिरहनुभएको छ ।’ यसले वरिष्ठ नेता राजेन्द्रलाई लोसपाभित्र दुर्घटना गरेर निस्किने माहौल मिलेको उनले बताए । उनी थप्छन्, ‘ नेता ठाकुर र महतोबिच यसरी सम्बन्ध चिसिएको छ कि अब सम्भव त महतोजी लोसपामा रहनुहुन्न ।’

केन्द्रीय समितिको बैठक बहिष्कार गरेर ‘राजनीतिक सम्बन्ध विच्छेद’

पार्टीको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर नेता महतो अध्यक्ष ठाकुरसँग ‘राजनीतिक सम्बन्ध विच्छेद’गर्ने खबर दिइसकेका छन् । यसको पक्षका अर्का वरिष्ठ नेता अनिल झा छन् ।

आदिवासी जनजाति, मधेसवादी पक्षधर र थरुहट संविधान संशोधनको माग गर्दै आएका छन् । तर, यो एजेन्डा मधेसवादी दलहरू फुटेका कारणले कमजोर बनेको चर्चा हुँदै आएको छ । आदिवासी जनजाति, मधेसी र थारुलाई एक ठाउँमा ल्याएर नेता महतो फेरि मधेसको राजनीतिक कित्तामा चम्किन कसरतमा जुटेका देखिन्छ । ‘लोसपा पार्टीभित्र अनि बाहिर उत्पीडित जनताले अधिकार पाएका छैनन् । उनीहरूको मनमा ‘विद्रोहको बारुद’छ । राजेन्द्रले नेतृत्व गरेर त्यसलाई‘ब्लाष्ट’ गर्ने तयारी गर्नुभएको छ’, लोसपाका एक नेताले भने ।

पार्टी अध्यक्ष ठाकुरले पार्टी र एजेन्डालाई ध्वस्त पार्ने काम गरेको महतो आरोप छ । पार्टी गठन भएको दुई वर्षमा तल्लो स्तरसम्म पार्टी संरचना विस्तार नगर्नु, अधिकार नदिएर सरकारले सङ्घीयतालाई कमजोर बनाउँदा मौन बस्नु, प्रदेशहरू पहिचानविहीन हुँदा पनि विराध नगर्नुलाई महतोले ठाकुरको कमजोरी र त्रुटिका रूपमा औँल्याएका छन् ।

अध्यक्ष ठाकुरले विस्तार गरेको पार्टी संरचनालाई परिवर्तन गरेर पनि कुनै काम लाग्ने खालेको नभएको नेता महतोको ठहर छ ।‘लोसपालाई जति सुकै डेन्टिपेन्टिङ्ग गरे पनि यो पार्टी मधेसको उत्पीडित मधेसी, जनजाति र थरुहटको माग र मुद्दालाई उठाउन सक्दैन । अब लोसपा पार्टी रहेन, लोसे पार्टी भयो’, नेता महतोको विरोधको स्वरबारे बताउँदै उनी पक्षका एक नेताले भने,  ‘लोसपा पार्टीलाई नर्कमा पनि ठाउँ छैन । यो पार्टी नर्कमा पनि ठेलमठेल छ ।’

एजेन्डा नभएको निष्कर्ष

लोसपाको प्रतिनिधिसभाका हाल चार जना सांसद छन् । यो पार्टी आउँदो चुनाव २०८४ सम्म टिक्छ । त्यसपछि लोसपा पार्टी नै सिद्धिने महतोले निचोड निकालेका छन् । स्रोतका अनुसार, दुई वर्षसम्म केही हुन्छ कि भनेर नेता महताले ठाकुरको कार्यशैलीलाई हेरेर बसेका थिए । तर, पार्टी ध्वस्त बन्दै गएपछि उनी आफ्ना निकट नेता तथा कार्यकर्ताको राजनीति जीवन सुरक्षित गर्न लोसपामा विद्रोहको बाटो रोजेका हुन् ।

नेता महतोले पार्टीहरूसँग अब कुनै राजनीतिक एजेन्डा नभएको निष्कर्ष निकालेका छन् । ‘लोकतान्त्रिक गणतन्त्र आएपछि काङ्ग्रेस, माओवादी र एमालेको एजेन्डा सक्यो । उपेन्द्र यादव मधेसवादबाट फ्लोप नै भयो । लोसपा लोसे भएर सकिन्छ । सिके राउतको विचार नै स्पष्ट छैन’, उनले निकालेको निचोडबारे बताउँदै उनी निकट एक नेता भन्छन्, ‘रेशम चौधरी छुटेपछि नागरिक उन्मुक्ति पार्टी एजेन्डाविहीन बन्यो । रबी छामिछाने सङ्घीयताप्रति प्रतिबद्ध नै छैनन् ।’ त्यसैले राजेन्द्रले राजनीतिक खेलमैदान खाली रहेको निष्कर्षमा पुगेको ती नेताले बताए ।

पुरानै एजेन्डालाई नेता महतोले बोक्ने तयारीमा छ । संविधान संशोधन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समावेशी समानुपातिक कार्यान्वयन, सङ्घीयताको सफल अभ्यास लगायतका एजेन्डामा उनी फेरि पार्टी खोल्न लागेका महतो निकट नेताहरूले जनाएका छन् ।

Back to top