×

एसीसी अन्डर नाइन्टिन एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ। 

दुबईको आइसीसी ओभलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। सुरक्षाको कारण पाकिस्तानबाट यूएईमा सारिएको प्रतियोगिताको अर्को खेलमा भने आज नै भारत र अफगानिस्ताबीच खेल हुनेछ। 

५० ओभरको एसिया कपमा नेपाल पाकिस्तानसँग दुई पटक पराजित भइसकेको छ र एसिया कपबाहेक अन्डर नाइन्टिनका सबै खेलमा नेपालले पाकिस्तानसँग चार पटक खेल्दा एक जित दर्ता गरेको छ।

नेपाल लगातार आठौं पटक एसिया कपमा सहभागी भएको हो।  सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको नेपाली टोली तीन दिनअघि नै यूएई गएको थियो। समूह चरणको आफ्नो दोस्रो खेलमा मंसिर २४ गते  नेपाल र अफगानिस्तान आमने सामने हुनेछन्।

नेपालले समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने तालिका छ। अन्डर नाइन्टिन एसिया कपमा नेपाल दुई पटक दोस्रो चरणमा पुगेको थियो।  सन् २०१६ मा समूहका दुई खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको थियो। त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। 

जगत टमाटाको प्रशिक्षणमा टीममा रहेका गुल्सन झा, कप्तान देव खनाल, अर्जुन कुमाल र दीपेश कँडेलले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ।  अन्डर नाइन्टिन एसिया कपमा आठ टोलीको सहभागिता छ।समान चार टिम रहेको समूह ए र बी बाट उत्कृष्ट दुई–दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल आगामी पुस १ गते हुनेछ ।

Back to top