×

फाइल तस्बिर ।

वीरगञ्ज । पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यागेर रौनियार केही दिन भित्रै नेकपा एमाले प्रवेश गर्न लागेका हुन् ।

एमाले प्रवेश गर्ने विषयमा रौनियारले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरिसकेको स्रोतले दाबी गरेको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीकै उपस्थितिमा आगामी मङ्सिर ५ गते पोखरिया नगरपालिकामा एक भव्य समारोहका बिच रौनियार एमाले प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालकसमेत रहेका रौनियार सङ्घीयता स्थापना पश्चात् भएको पहिलो आम चुनावमा तत्कालीन सङ्घीय समाजवादी पार्टी नेपाल (हाल जसपा) बाट पर्सा – ३ को प्रतिनिधिसभा सदस्य (सांसद) मा निर्वाचित भएका थिए । यद्यपि भ्रष्टाचार मुद्दा लागेपछि केही समय भित्रै उनी निलम्बनमा परेका थिए ।

निलम्बनमा परे पनि जसपामा केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेका रौनियारले भने गत आम चुनाव लडेनन् । उनले आफ्नी जेठी छोरी मधु गुप्तालाई जसपा – एमाले गठबन्धनबाट पर्सा – ३ (ख) को उम्मेदवार बनाएका थिए । तर, मधु नेपाली काङ्ग्रेसका जनार्दन सिंह क्षेत्रसँग पराजित भइन् । निर्वाचनमा छोरीले पराजय भोगेदेखि उनी सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए । 

रौनियार पार्टीको कार्यक्रमहरूमा समेत आउन् छोडेको जसपा पर्साका नेताहरू बताउँछन् । पछिल्लो समय जसपा पर्सामा नेतृत्वको विषयलाई लिएर देखिएको विवादमा पनि उनले कुनै समूहको पक्ष लिएका थिएनन् ।

आम निर्वाचनमा पार्टीले अपेक्षित सहयोग नगरेको आरोप लगाउँदै उनी जसपाको विकल्प खोज्दै थिए । सोही क्रममा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पुगे । जहाँ उनले एमाले प्रवेश गर्ने इच्छा प्रकट गरे । पर्सा जिल्लामा गुम्दै गएको पार्टीको पकडलाई फिर्ता ल्याउन ओलीले पनि रौनियारका रूपमा एउटा सम्भावना देखेर उनको प्रस्तावमा सहमति जनाए ।

निर्वाचन बितेको झन्डै एक वर्ष पछि एमाले प्रवेश गर्ने रौनियारको निर्णयले पर्साको राजनीतिमा एउटा छुटै तरङ्ग ल्याएको छ । पर्सा – ३ लाई आफ्नो क्षेत्र बनाएर राजनीति गर्ने रौनियार र हाल त्यस क्षेत्रमा एमालेबाटै निर्वाचित राजकुमार गुप्ता मुख्य प्रतिस्पर्धी हुन् । दुई मुख्य राजनीतिक प्रतिस्पर्धी एउटै पार्टीमा आएपछि त्यस क्षेत्रको राजनीतिले नयाँ मोड लिने आङ्कलन गरिएको छ ।

Back to top