×

नेपालले एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा युएईमाथि सानदार जित हात पार्दै नेपालले उपाधि चुमेको हो । 

मलेसियाको बायोमास ओभलमा नेपालले जितका लागि दिएको २८१ रनको विशाल लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमा समेटिएको हो । नेपालका बलर आकाश त्रिपाठीको घातक बलिङमा युएईका खेलाडी क्रिजमा टिक्न सकेनन् । युएईका लागि ध्रुब परेशारले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै, अर्यांश शर्माले ३२ रन बनाउँदा कप्तान आयन खान ३० रनमा आउट भए । 

बलिङमा नेपालका आकाश त्रिपाठीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सुवास भण्डारीले ३ विकेट लिँदा आकाश चन्दले २ विकेट तथा हेमन्त धामीले १ विकेट लिए । यसअघिका खेलमा सनसनीपूर्ण प्रदर्शन गरेका दिपेश कँडेल भने आज विकेटविहीन रहे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए ।
 
यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए ।  

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । सेमिफाइनलमा जापानमाथि सानदार जित हात पारेकाे थियाे । याेसँगै नेपाल एसिया कपमा छनोट भएको छ । प्रिमियर कपबाट नेपालसहित दाेस्राे युएई र तेस्राे जापान एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ । 

Back to top