×

फिफा विश्वकप फुटबलमा सबै समूहको पहिलो खेल सकिएको छ।  समूहचरण अन्तरगत सबै ४८ वटै टोलीले पहिलो खेल खेलेका हुन्। 

समूह ‘के’ को चौबिसौँ खेलमा आज विहान दक्षिण अमेरिकी पावरहाउस कोलम्बियाले एसियाली प्रतिद्वन्द्वी उज्वेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको रोमाञ्चक खेलमा जित निकाल्दै कोलम्बियाले स्पष्ट ३ अंक जोडेको हो।

खेलको सुरुबाती समयदेखि नै आक्रामक रणनीति अपनाएको कोलम्बियाका लागि ४०औँ मिनेटमा ड्यानियल मुनोजले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा रणनीतिक परिवर्तनसहित मैदान उत्रिएको उज्वेकिस्तानले खेलको ६०औँ मिनेटमा बराबरी गोल फर्कायो। उज्वेकिस्तानका भरपर्दा मिडफिल्डर अब्बोसबेक फायजुल्लाएभले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए।

उज्वेकिस्तानले बराबरी गोल गरेको ठीक ५ मिनेटपछि नै कोलम्बियाले खेलमा पुनः कमब्याक गर्‍यो। ६५औँ मिनेटमा स्टार स्ट्राइकर लुइस डियाजले सानदार गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम क्षणमा उज्वेकिस्तानले बराबरीका लागि निकै मिहिनेत गरे पनि बलियो कोलम्बियन रक्षापंक्ति तोड्न सकेन। 

११ मिनेट थपिएको इन्जुरी समयको नवौँ मिनेटमा (९०+९') जेमिन्टन काम्पाजले गोल गरेपछि कोलम्बियाको ३–१ को जित सुनिश्चित भएको हो। खेलको अन्तिम ह्विसल बज्दासम्म उज्वेकिस्तानले थप अवसर सिर्जना गर्न सकेन।

जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। गएराति यही समूहमा भएको पहिलो खेलमा पोर्चुगल कंगो डिएआरसँग १-१ गोलको बराबरीमा रोकिएको छ। 

Back to top