×

वीरगञ्ज । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामअन्तर्गत रहेका कुटी र पोखरीका जग्गा अतिक्रमण भएको पाइएको छ । कार्यालयअन्तर्गत रहेका २० ओटा कुटी र ११ ओटा पोखरीका जग्गा अतिक्रमण गरिएको हो । कार्यालयका अनुसार राममन्दिरको १२ सय बिघा गुठीको जमीन छ ।

त्यस्तै जानकी मन्दिरको आठ सय बिघा जमीन र बाँकी कुटीको सयौं बिघा जमीन रहे पनि त्यसमा अधिकांश गुठीको जमीन अतिक्रमण गरिएको कार्यालय प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए ।

गुठी जग्गा विभिन्न व्यक्ति, सरकारी कार्यालय, संघसंस्थाबाट अतिक्रमणमा परेकाले राजस्वमा समेत प्रभाव परेको उनले बताए । आर्थिक वर्ष २०७९/८० मा रू. ३ करोड १५ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कृतिबाली, घर बहाल, भू–बहाल, घर दस्तुर, निवेदन दस्तुर, सेवा शुल्क र पोखरी बजार ठेक्काबाट उक्त राजस्व असुल गरेको गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख आनन्द कर्माचार्यले बताए ।

गुठीका जग्गा सम्बन्धित निकाय र सरोकारवालाले चासो नलिँदा गुठी संस्थाको नाममा रहेका जग्गा अतिक्रमण नरोकिएको उनको भनाइ छ । गुठीका जग्गा अतिक्रमणका कारण धार्मिक, सांस्कृतिक, पर्यटन क्षेत्रमा समेत असर परेको उनले बताए ।

Back to top