×

वीरगञ्ज । बारा जिल्लाको सदरमुकाम कलैयामा शनिवार सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा पर्सा क्रिकेट सङ्घले बारा जिल्ला क्रिकेट सङ्घविरुद्ध शानदार जित निकालेको छ ।

कलैयास्थित सिद्धेश्वर खेल परिसरमा आयोजित मैत्रीपूर्ण प्रतियोगितामा पर्सा क्रिकेट सङ्घले बारा जिल्ला क्रिकेट सङ्घलाई १० विकेटले पराजित गर्दै शानदार जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाराले २०.४ ओभरमा १० विकेट गुमाएर दिएको ६६ रनको लक्ष्यलाई पर्साले ८ ओभरमा एक विकेट पनि नगुमाएर सहजै भेटायो ।

पर्साको तर्फबाट सन्तोष कार्कीले अविजित रहँदै ३२ बलमा तिन छक्का र चार चौकाको सहयोगमा सर्वाधिक ३९ रन बनाए भने इमरान शेखले पनि अविजित रहँदै १७ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा १९ रन जोडे । बाराले बलिङका क्रममा दिएको दश वाइड र एक नोबलबाट आएको एक्स्ट्रा ११ रन पनि पर्साको जितमा सहायक बन्यो ।

बाराको तर्फबाट ब्याटिङ गर्न उत्रेका नीरज यादवले २८ बलमा दुई चौकाको सहयोगले १७ रन जोडे भने मुकेश मण्डलले १६ बल खेलेर दुई चौकाको सहयोगमा १४ रन जोडे । त्यस्तै भुलावन सहनीले १४ बलमा दुई चौकाको सहयोगले टिमका लागि ११ रन जोडे । अन्य ब्याटरहरूको प्रदर्शनी भने खासै सन्तोषजनक थिएन ।

बलिङ तर्फपनि पर्साले उत्कृष्ट प्रदर्शनी गर्‍यो । पर्साबाट रञ्जित कुमारले २.४ ओभरमा एक मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सैफुल्लाह अन्सारीले पनि ८ ओभरमा एक मेडेनसहित २९ रन खर्चेर ३ विकेट लिए भने चन्दन रामले ८ ओभरमा २० रन खर्चेर २ विकेट लिए । उत्कृष्ट बलिङ गरेका सैफुल्लाह अन्सारी र रञ्जित कुमारलाई संयुक्त प्लेयर अफ द म्याच समेत घोषित गरियो  ।

क्रिकेट सम्बन्धी गतिविधिलाई निरन्तर जारी राख्न पर्सा क्रिकेट सङ्घले दैनिक रूपमा आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत शनिवार पर्सा र बारा क्रिकेट सङ्घबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो । पर्सा क्रिकेट सङ्घको नेतृत्व सम्हालेदेखि अध्यक्ष मनिष सिंहले निरन्तर यस्ता प्रतियोगिताहरूको आयोजना गर्न थालेका हुन् । उनले आफ्नो नेतृत्वमा पर्सासँगै मधेस प्रदेशको क्रिकेटको कायापलट गर्ने अठोट लिएको बताए ।

नेतृत्वमा आएको थोरै समयमा उनले दर्जनभन्दा बढी प्रतियोगिताहरू आयोजना गरेर उसको उदाहरण पनि दिइसकेका छन् । तिनै तहको सरकारले समन्वय गरेर क्रिकेट मैदान निर्माणदेखि अन्य पूर्वाधार र खेलाडीहरूको विकासमा लगानी लगाए पर्साबाट अन्तर्राष्ट्रिय स्तरको खेलाडी निकाल्न सकिने उनको विश्वास छ ।

प्रतियोगितामा पर्सा क्रिकेट सङ्घका उपाध्यक्ष मुर्तुजा हवारी, पर्सा क्रिकेटका प्रमुख सेलेक्टर राजीव श्रेष्ठ, ट्यालेन्ट हन्टका प्रमुख अमित आलोक, कोचहरू कलामिदीन अन्सारी र प्रकाश शर्मालगायतको उपस्थिति थियो  ।

Back to top