×

वीरगञ्ज । स्पोर्ट्स हाउस नेपालको आयोजनामा जारी “वीरगञ्ज बक्स क्रिकेट लिग” अन्तर्गत दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । बिहान दुई र साँझ दुई गरेर लिगअन्तर्गत शनिवार चार खेल सम्पन्न भएका हुन् ।

वीरगञ्जस्थित वर्ल्ड अफ वन्डर्समा भइरहेको ६ ओभरको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा गणपति निर्माण सेवा १८ रनले विजयी भयो । 

टस हारेर पहिले होटेल लर्ड्स दियालोविरुद्ध ब्याटिङ गर्न उत्रेको गणपति निर्माण सेवाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ४१ रन जोड्यो । जसलाई दियालोलाई पछ्याउन सकेन । दियालोले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै जम्मा २३ रन जोड्न सक्यो । खेलमा गणपति निर्माण सेवाका राहुल शाह प्लेयर अफ द म्याच भए ।

त्यस्तै दोस्रो खेलमा फग विजयी भएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको फगले निर्धारित ६ ओभरमा १ विकेट गुमाएर ५१ रनको बनायो । ५२ रनको ठूलो लक्ष्यसहित मैदानमा उत्रेको रोटरी क्लब भने २८ रनमै समेटियो । रोटरीले निर्धारित ६ ओभर खेलेर ३ विकेट गुमाउँदै २८ रन जोडेको थियो । खेलमा फगका तापेश्वर मण्डल प्लेयर अफ द् म्याच घोषित भए । उनले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिएका थिए ।

साँझ भएको तेस्रो खेलमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज विजयी भयो । टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको मेडीसिटी वयोधा अस्पतालले दिएको २३ रनको लक्ष्यलाई एनवाइईएफले सहजै भेटायो । निर्धारित ६ ओभर खेल्दै ४ विकेट गुमाएर मेडीसिटि वयोधा अस्पतालले २२ रन जोडेको थियो । विपिन बावरीको कप्तानीमा जवाफी कारबाहीमा उत्रेको एनवाइईएफ वीरगञ्जको टिमले जम्मा ५ ओभर खेलेर १ विकेट गुमाउँदै २३ रनको लक्ष्य पूरा गर्‍यो । खेलमा उत्कृष्ट बलिङ र ब्याटिङ गर्ने सन्दीप रौनियार प्लेयर अफ द म्याच घोषित भए । उनले १९ बल खेलेर १४ रन जोडे भने २ ओभरमा ३ रन खर्चिँदै २ विकेट लिएका थिए ।

यसै गरी शनिवार भएको अन्तिम खेलमा चाचान समूह विजयी भएको थियो । टस जितेर स्काइलाइनलाई पहिले ब्याटिङ गर्न दिएको चाचान समूहले प्राप्त गरेको २१ रनको लक्ष्य सहजै भेटायो । निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर स्काइलाइनले दिएको २२ रनको लक्ष्यलाई चाचान समूहले ५.५ ओभर खेलेर ३ विकेट गुमाउँदै भेटायो । खेलमा  उत्कृष्ट बलिङ गरेका चाचान समूहका जितेन्द्र प्लेयर अफ द् म्याच घोषित भए । उनले २ ओभर ४ रन खर्चिँदै ३ विकेट लिएका थिए ।

स्पोर्ट्स हाउस नेपालको आयोजनामा शुक्रवारदेखि सुरु भएको “वीरगञ्ज बक्स क्रिकेट लिग” मा कूल १६ वटा टिमले सहभागिता  जनाएका छन् । वीरगञ्जमा व्यावसायिक खेलकुदको प्रवर्द्धन र विकास गर्ने उद्देश्यसँगै स्वस्थ सहर बनाउने लक्ष्य लिएर सुरुवा भएको स्पोर्ट्स हाउस नेपालले स्थापना कालदेखि नै विभिन्न प्रतियोगिता र प्रशिक्षणका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

हाल चलिरहेको “वीरगञ्ज बक्स क्रिकेट लिग” पनि सोही उद्देश्यका साथ आयोजना गरिएको स्पोर्ट्स हाउस नेपालकी सह-सञ्चालक आकृति अग्रवालले बताइन । उनले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता समेत जनाइन ।

“वीरगञ्ज बक्स क्रिकेट लिग” मा पहिलो हुने टिमका लागि ४० हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । त्यस्तै दोस्रो हुने टिमलाई २० हजार र प्लेयर अफ द टुर्नामेन्टलाई १० हजार नगद पुरस्कारले सम्मानित गरिने सह-सञ्चालक अग्रवालले जानकारी दिइन् ।

Back to top