×

तस्बिर सौजन्य ।

वीरगञ्ज । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्याङ्क डरलाग्दो छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् । नेपाली श्रमिकका प्रमुख गन्तव्य खाडी मुलुक हुन् । खाडी मुलुकमध्ये पनि गत आर्थिक वर्ष २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ । सोही आर्थिक वर्षमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, दुबईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाए ।

रोजगारीका लागि बिदेसिने धेरैजसो कामदारको उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन् । उनका अनुसार पछिल्ला तीन वर्षमा विदेश जाने नेपाली कामदारको आधा सङ्ख्या २५ देखि ३४ वर्ष उमेर समूहको रहेको छ ।

रोजगारीको खोजीमा विदेश जाने युवाको सङ्ख्या लगातार बढेसँगै उतै ज्यान गुमाउनेको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको हो । सरकारले वैदेशिक रोजगारीमा रहेका युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गरेको र रोकथामको उपाय अपनाएको पाइन्न। त्यस कारण वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घट्न नसकेको बताइन्छ ।

आर्थिक वर्ष २०७०/७१ सम्म रोजगारीमा विदेश जानेको सङ्ख्या ५ लाख नाघेपछि त्यसयता वार्षिक रूपमा मृत्यु हुनेको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो । त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्षमा मृत्यु हुनेको सङ्ख्या १ हजारभन्दा कम थियो । तर आर्थिक वर्ष २०७७/७८ बाट फेरि मृतकको सङ्ख्या वार्षिक १ हजार नाघिरहेको छ । 

वैदेशिक रोजगारीका क्रममा सबैभन्दा धेरैको मृत्यु हृदयाघातबाट भएको देखिन्छ । त्यस्तै सडक दुर्घटनाबाट पनि धेरैको मृत्यु हुने गर्छ । आत्महत्या गर्नेको तथ्याङ्क पनि डरलाग्दो छ । बोर्डका अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट, आत्महत्या, दुर्घटना आदि मृत्युका मुख्य कारण रहेका छन् । नागरिक दैनिकबाट।

Back to top