वीरगञ्ज । मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रले खैलाबैला मच्चेको छ ।
स्रोतका अनुसार अख्तियारले गत हप्ता मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक जना कर्मचारीको विषयमा जानकारी माग्दै पत्राचार गरेको छ । निजामती ऐन विपरीत कर्मचारी भर्ना गरी तलब, सुविधा उपलब्ध गराइएको भन्ने उजुरीको आधारमा कर्मचारी भर्ना बारे आवश्यक कागजात माग गर्दै अख्तियारले १५ राय समेत पठाउन भनेको छ । स्रोतका अनुसार पार्टीको कार्यकर्तालाई राजनीतिक नियुक्ति दिएर कर्मचारी बनाएपछि ख्तियारले चासो लिएको हो ।
प्रथम श्रेणी (सहसचिव) स्तरको नियुक्ति गरिएका कर्मचारीको सो अनुसारको योग्यता नरहेको उजुरी अख्तियारमा परेको बताइएको छ । त्यसपछि अख्तियारले मुख्यमन्त्री कार्यालयसित नियुक्ति प्रक्रियाबारे राय सहितको फाइल माग गरेको छ । मधेस प्रदेश निजामती ऐनमा राजनीतिक नियुक्ति हुनेको हकमा योग्यता नतोकिएको एक जना कर्मचारीले बताए । कर्मचारीका अनुसार राजनीतिक नियुक्ति मुख्यमन्त्रीको निर्देशनमा हुने भएकाले योग्यताको विषय सोधखोज गरिँदैन ।
प्रदेश निजामती ऐनमा समेत योग्यता नतोकिएकाले नियुक्ति गैह्र कानुनी नभएको ती कर्मचारीले दाबी गरे । तर अख्तियारको पत्रले नियुक्ति प्रक्रिया र योग्यता दुबैमाथि प्रश्न उठाएकाले गैह्र कानुनी ठहरे खाएको तलब, सुविधा समेत फिर्ता गर्नुपर्ने ती कर्मचारीले बताए । विगतको सरकारमा अख्तियारले साइकल खरिद प्रकरणमा मुद्दा चलाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विकास सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू हटाइएको छ ।
हाल मुख्यमन्त्री कार्यालयमा प्रदेशको कुनै कार्यक्रम रहेको छैन । अख्तियारले साइकल खरिदमा मुद्दा चलाएपछि मधेस भवनमा झन्डै ५ हजार साइकलमा खिया लाग्न थालेको छ । कयौँ कार्यक्रमहरू नराम्ररी प्रभावित भएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयमा नियुक्त भएका कर्मचारीमाथि योग्यताको विवाद उठेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फेरि चर्चामा आएको छ ।
विवादमा रहेका कर्मचारीलाई भने जोगाउन सरकार सक्रिय भएको छ । प्रमुख सचिवसित यसबारे जानकारीका लागि सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन उठाएनन् । उनले प्रदेश सरकारको स्वामित्वमा रहेको ९८५४०२०१४४ नम्बरको मोबाइल फोन प्रयोगमा राखेका छन् । मन्त्रालय स्रोतले थप विवरण उपलब्ध गराउन चाहेनन् । यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी मन्त्री सुरिता साहलाई सम्पर्क गर्ने प्रयास गर्दा उनको नम्बर उठेन । जनकपुरटूडेबाट साभार ।