×

फाइल तस्विर ।

वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक गितेन्द्रबाबु (जीबी) राई सञ्चालक रहेको सात वटा कम्पनीको सम्पत्ति रोकिएको छ ।

बैङ्किङ कसुर गरेको कारण जीबी राई सञ्चालक रहेको जीबी ग्रुप अफ कम्पनिज् प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेड, नेचर हर्बस् प्रालि, नेचर नेष्ट प्रालि, हर्बो इन्टरनेशनल प्रालि, गोर्खा आयुर्वेद प्रालि र गुप्ती टी इस्टेट प्रालिको सम्पत्ति कम्पनी रजिस्ट्रारको कार्यालयले रोक्का गरेको हो ।

कम्पनी रजिस्ट्रार कार्यालयका कानुन अधिकृत पराशर खरेलका अनुसार बारा प्रहरीले पत्र पठाएपछि ७ कम्पनीको सम्पत्ति रोक्का राख्ने निर्णय गरिएको हो । ‘प्रहरीको पत्रको आधारमा सम्पत्ति रोक्का भइसकेको छ,’ उनले भने, ‘अब उनले ती कम्पनीका सम्पत्ति केही गर्न पाउँदैनन् ।’

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकृष्ण कुर्मीले कम्पनी रजिस्ट्रार कार्यालयमा साउन ९ गते पठाएको पत्रमा ‘गितेन्द्र बाबु राईसमेत सञ्चालक रहेको ७ वटा कम्पनीको लगानी स्रोत के हो? सो को विवरण खुलाई कम्पनीहरूको कसुरजन्य सम्पत्ति साधन रोक्का, नियन्त्रण र जफत ऐनबमोजिम रोक्का राख्न’ भनिएको थियो ।

राईविरुद्ध बारा जिल्लाकी नेहा संघाईं, रोहित हालान, मोहित हालान र राधा हालानले ५६ लाख भन्दा बढी रकमको चेक नसाटिएको भन्दै बैङ्किङ कसुरमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए । सोही पत्रको आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयले पहिलो चरणमा सम्पत्ति रोक्का राखेर दोस्रो चरणमा सम्पत्तिको स्रोतबारे अनुसन्धान अगाडि बढाएको छ ।

राईको समूहले सानोपाइलासहित देशका विभिन्न स्थानमा सञ्चालन गरिरहेको सहकारीमा जम्मा भएको बचतकर्ताहरू पैसा दुरुपयोग गरेर कम्पनीहरूमा लगानी गरेको स्रोतको दाबी छ । कम्पनीको सम्पत्ति रोक्का भएसँगै बचतकर्ताहरूको अर्बौँ रुपैयाँ जोखिममा परेको छ ।

वीरगञ्जस्थित सानो पाइला सहकारीले मात्र बचतहरूको झन्डै डेढ अर्ब रुपैयाँ दिनुपर्ने छ । तर, त्यसले लामो समयदेखि पैसा नदिएपछि अहिले बचतकर्ताहरू विरोधमा उत्रिएका छन् । स्रोतका अनुसार राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम छ । राई संस्थापक रहेको सानो पाइलाको अध्यक्ष उनका आफ्नै भाइ अनन्तबाबु राई हुन् ।

Back to top