×

वीरगञ्ज ।  चैत वैशाखको प्रचण्ड गर्मीमा अजितमलाई अजीवको तल–तल लाग्दै थियो । त्यही तल–तल मेटाउन उनी आफ्नो सुखदुःखको साथी क्षितिजलाई खोज्दै उसको घरसम्म पुगे । क्षितिज र अजितमबीचको घनिष्ठता यतिसम्मको थियो कि उनीहरू स्कुलको पढाइ छाडेर लुकीछिपी सीमावर्ती शहर रक्सौल जान्थे र तल–तल मेटाउने ट्याब्लेट खान्थे । 

पढाइमा पनि अब्बल अजितमलाई सङ्गतको असर प-यो । भनिन्छ नि ‘सङ्गत गुनाको फल’ भनेर । उनी पनि त्यस्तै सङ्गतको लहलहैमा लागे । १५/१६ वर्षको तन्नेरी, मनमा आँट, शरीरमा जोश र जे भन्यो त्यही मान्ने साथी पाएपछि उनलाई सबैथोक पाए जस्तै लाग्न थाल्यो । 

१५ मिनेटको बाटो हिँडिसकेपछि अजितम क्षितिजको घरसम्म पुगे । बाहिरैबाट पुकारे– ‘क्षितिज, ओ क्षितिज !’ क्षितिजले बोल्नुभन्दा पहिल्यै उसकी आमाले बोलेका शब्दले अजितमको मनमा चिसो पस्यो । ‘देख बउवा, हइ अजितम के सङ्गत जन कर, हम कह देले बानी । ना त इ तहारा अपने खानी बिगाड दी ।’ अर्थात (‘हेर बाबु, यो अजितमको सङ्गत नगर है मैले भन्देको छु । नत्र यसले तलाई पनि आफू जस्तै बिगार्छ ।’) ढोकाबाट बाहिर निस्किँदै गरेको क्षितिजको हात समाउँदै अझै उसकी आमाले थपिन्–त्यो हिँडेको बाटो तँ नहिँड है । उसको छायाँ मात्र प-यो भने पनि तँ बिग्रन्छस् ।

जसको कारण अजितम लागूऔषधको दलदलमा फसेका थिए, उसकै आमाले आफ्नो सङ्गत नगर भन्दा उनलाई हाँसो पनि लाग्यो । तर त्यही हाँसोको विषयलाई उनले चिन्ता र चासोको विषय बनाए । त्यही दिनदेखि सुध्रिएर देखाउँछु भनेर सङ्कल्प गरे । तर सङ्कल्प गर्दैमा नानीदेखि लागेको बानी कहाँ छोड्न सकिन्छ र ? १३ वर्षकोे उमेरमा नाइट्रोभ्याट ट्याब्लेटबाट सुरु भएको यात्रा ब्राउन सुगर हुँदै टिटिजिसीसम्म पुग्यो । एक दिनमा २८ वटासम्म ट्याब्लेट खाएको उनले अहिले पनि बिर्सिएका छैनन् । नाइट्रोभ्याट ट्याब्लेट, ब्राउन सुगर, २५ एमएलसम्मको टिटिजिसी हानेर ४/५ बोतल रक्सी खाँदासमेत नशाले छुन छाड्यो । इन्जेक्सन हान्दा हान्दै अब नशासमेत भेटिन छाड्यो । हान्ने ठाउँ कतै भएन । सामान छ तर प्रयोग गर्नका लागि ठाउँ छैन भने त्यो सामानको के काम ? यस्तै कौतुहलता अजितमको मनमा पलाउन थाल्यो । 

बहिनीको बिहेको बेला घर आफन्त र पाहुनाले भरिएको थियो । एक्कासि अजितमको कोठामा बुबाको प्रवेश भयो– ‘छोरा बरु म तेरो खुट्टा ढोग्छु तर तँ एक दिनका लागि कतै जा । घरमा नबस् । बरु तलाई के के चाहिन्छ म सबै व्यवस्था गरिदिन्छु ।’ बुबाको त्यो नम्रतापूर्वकको आग्रहले उनलाई छोयो । तर जति छोएपनि उही ताल । पाहुनाले घर भरिएको हुँदा सुत्ने ठाउँ नभएपछि बुबाले छतमा सुत्ने प्रबन्ध मिलाइदिए । चिसो याम थियो । छतमा सुत्न नसकिने छाँटकाँट देखेपछि चिसोबाट बच्न के गर्ने भनेर उनको दिमाग चल्न थाल्यो ।

रक्सौलबाट लुकाएर ल्याएको २५ एमएलको इन्जेक्सन हानेर पल्टिए । निद्रा परेको थिएन । तर निदाएजस्तै गरेका थिए उनले । बुबा र ममी उनलाई सिरक ओढाइदिन आएको चाल पाएपनि उनले निदाएकै बहाना गरिरहे । सिरक ओढाएपछि बुबाले भनेको कुरा अहिले पनि उनलाई स्मरण छ–हेर बूढी मलाई यसको माया नभएको कहाँ हो र ? के गर्ने ? खान नदिउँ खान नपाएरै मर्ला भन्ने पिर, खान दिउँ खाएरै मर्ला भन्ने पिर ।

बुबा आमाको त्यो भक्कानिएको आवाजले उनको मन पनि भक्कानियो । ‘अब त म खाँदिन, आजैदेखि छोड्छु भन्ने निक्र्योलमा उनी पुगे । हेटौँडाको एउटा सुधार केन्द्रमा राख्न भनेर दिदी भिनाजुले दिएको सुझावलाई आत्मसात गर्दै बुबाले उनलाई सुधार केन्द्रमा पठाए । लागूऔषध प्रयोगकर्ताका रूपमा सुधार गृह पु-याइएका अजितमले आज आफ्नै मातहतमा तीनवटा सुधार गृह  सञ्चालन गरिरहेका छन् । इनहाउस केयर, डे केयर, भोलेन्टियर हुँदै सपोर्ट चिफ बनेका उनले कार्यक्रम संयोजक हुँदै म्यानेजरसमेतको अनुभव बटुले । 

प्रभावित भएकाहरू नै परिवर्तनको संवाहक हुनुपर्छ भन्ने अठोटका साथ उनले २०७५ सालमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नकटाझिझमा पुनर्जीवन नेपाल नामक संस्था स्थापना गरे । ‘यदि क्षितिजकी आमाले त्यो वचन नलाएको भए शायद आजको उपलब्धि सम्भव हुने थिएन’– उनले विगत सम्झिए । आफ्नो जिन्दगी यसरी परिवर्तन हुन्छ भनेर उनले सोचेका पनि थिएनन् । जिन्दगीकै पहिलो तलब मासिक १९ सय ८० रुपियाँ कमाएका अजितम आज आफ्ना कर्मचारीलाई मासिक १५ हजारदेखि ७० हजारसम्म तलबबापत बाँड्छन् । उनीसँग अहिले मासिक २५ हजार तलब खाने कर्मचारी मात्रै ४० जना छन् । पुनर्जीवन नेपालको मुख्य कार्यालय नकटाझिझसँगै सिरहाको गोलबजार र सर्लाहीको हरिवन शाखामा गरेर उनले ६० जनालाई रोजगारीसमेत दिएका छन् ।

पुनर्जीवन नेपालमार्फत हालसम्म ९ सय जनाभन्दा बढीले पुनर्जीवन पाइसकेको यो संस्थाका कार्यकारी निर्देशकसमेत रहेका अजितम पाण्डेले जानकारी दिए । छोटो समयमै सबैभन्दा धेरैजनालाई कुलतबाट टाढा राखेर पुनर्जीवन दिन सफल भएको उनको दाबी छ । उनकाअनुसार स्थापना भएको ४ वर्षको अवधिमा ६० जनालाई पूर्णरूपमा निःशुल्क उपचार दिएर उल्टै रोजगारीसमेत दिएर घरमा पैसा पठाउने वातावण बनाइएको छ । पुनर्जीवन नेपालमा अहिले १२ वर्षदेखि ७० वर्ष उमेर समूहसम्मका १ सय २७ जना उपचाररत छन् । 

प्रयोगकर्तादेखि प्रबन्ध निर्देशकसम्मको कथा सुनाउँदै पुर्नजीवन नेपालका कार्यकारी निर्देशक अजितम पाण्डे ।

जनकपुर स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका १७ वर्षीय किशोर चुरोट बिना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । पिउँदा पिउँदै चुरोटको नशामा कहिलै नउत्रिने गरी डुबिसकेको कक्षा ८ मा अध्ययनरत किशोरलाई थाहै भएन । पुनर्जीवन नेपालमा आएको १७ दिनमै उनमा आकाश-पातालको फरक देखियो । चुरोट पिउँदा सास फेर्न गाह्रो हुनुका साथै अल्छी लाग्नेदेखि केही पनि खान मन नलाग्ने खालको स्वभावमा परिवर्तन आउन थालेको आभाष उनले गरे । ‘म पहिला एकदम दुब्लो पातलो थिएँ, केही काम गर्न मन लाग्दैनथ्यो, पढ्न त झन मरिगए मन थिएन । तर अहिले म मोटाउँदै गएको छु । अल्छी पनि लाग्दैन’, उनी सुनाउँदै थिए– ‘अचेल छाती पनि दुख्दैन, सास पनि सजिलै फेर्न सक्छु । सुरुमा एक हप्तासम्म चुरोटको तल–तल लागेपनि अहिले भने मैले सबै बिर्सिसकेँ । अब त कसैले दिएपनि खाँदै खान्न ।’ अहिले उनी त्यहीँ बसेर अध्ययनरत छन् । पुनर्जीवन नेपालले शिक्षकको समेत व्यवस्थापन गरेर त्यहाँ रहेका बालबालिकालाई अध्यापन पनि गराउँदै आएको छ । 

लागूऔषध, रक्सी, जाँड, चुरोट, गाँजालगायतका सबै किसिमका नशाको लत लागेकालाई स्नेह र प्रेमपूर्वक उपचार दिँदै आएको पुनर्जीवन नेपालका प्रबन्धक शिवचरण यादवले जानकारी दिए । उनी भन्छन्– ‘हामी यहाँ सबैलाई स्वतन्त्ररूपमा छाडिदिन्छौँ, विभिन्न किसिमका परामर्शदेखि अन्य कक्षा हुने बेला घण्टी लाग्छ, अरूबेला हामी कसैलाई पनि बन्धनमा राख्दैनौँ ।’ कुनै पनि लागूऔषध प्रयोगकर्तालाई कुट्ने वा गाली गर्ने काउन्सिलर वा अन्य कर्मचारीलाई जागिरबाटै हटाउने गरेको यादवको भनाइ छ । 

लकडाउनमा लागेको लत
जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी ३५ वर्षीय शिवचरण यादवले नै अहिले उक्त संस्थाको म्यानेजरको जिम्मेवारी सम्हालिरहेका छन् । जो कुनै बेला त्यही संस्थामा उपचारका लागि आएका थिए । साथीको लहलहैमा लागेर चुरोट खाँदाखाँदै नाइट्रोभेट ट्याब्लेटसम्म कसरी पुगियो भन्नेसमेत उनलाई याद छैन । 

जनकपुरको सीमावर्ती शहर भिठामोड, जठी, हरिनेलगायतका ठाउँ उनको दैनिक पुग्ने अड्डा थियो । पटकपटक सीमा वारपार गर्ने क्रममा चिनेका आफन्तहरूले देख्न थालेपछि उनी कूलतमा लागेको शङ्का उनका परिवारले गरेका थिए । यति मात्रै नभएर उनको स्वभाव र आनीबानीमा पनि परिवर्तन देखिएको थियो । सँधै अध्ययनसँगै घरायसी काममा सहयोग गर्ने शिवचरण भनेको नटेर्ने, बोली पनि अस्पष्ट हुने, स्कुल छाडेर बजारमा घुम्ने जस्ता गतिविधिले उनी कुलतमा फसेको शङ्का उब्जिएपनि एकदिन उनकी आमाले कपडा धोइदिने बेला पाइन्टको गोजीमा भेटिएको गाँजाको धुलोले उक्त शङ्का यथार्थमा परिणत भयो । 

कोरोना भाइरसको महामारीमा लगाइएको बन्दाबन्दी (लकडाउन) नै शिवचरणलाई लतमा फसाउने माध्यम बन्यो । ‘खाली दिमाग सैतानका घर’ भने जस्तै उनको दिमागमा नकारात्मक कुरा मात्रै खेल्न थाले । परिणामस्वरूप उनी हरबखत लागूऔषधकै नशामै झुम्न थाले । कूलतबाट टाढा राख्न घरपरिवारले रोजेको पुनर्जीवन नेपालले साँच्चिकै शिवचरणलाई पुनर्जीवन दियो । उनी अहिले यही संस्थामा प्रबन्धक बनेर आफू जस्तै कुलतमा फसेकाहरूलाई सही मार्गमा ल्याउन निर्देश गरिरहेका छन् ।

सिन्धुलीको सिन्धुलीगढी नगरपालिका वडा नम्बर ७ निवासी २६ वर्षीय मिलन भुजेलको व्यवहारले उनका परिवार आजित थिए । साथीको सङ्गतबाट बिँडी पिउन सुरु गरेका मिलनले बिस्तारै बिँडीमा गाँजा राखेर पिउन थाले । आफैँलाई कूलतमा फसाउने साथीसँग उनले आफ्नै बहिनीको बिहे गराइदिए । जसको पश्चाताप उनलाई अहिले पनि छ । नशा पिउनका लागि पैसा नहुँदा घरको दराजसमेत फोड्नेदेखि लिएर आफन्त र परिवारलाई उनले धेरै दुःख दिए । उनका बुबा र दाइहरूको बेग्लै नाम र सम्मान आफ्नै कारणले बिग्रने हो कि भन्ने पिरले भने मिलनलाई सधैँ पिरोल्ने गथ्र्यो । ‘तैँले मलाई जति रुवाएको छस्, त्यो भन्दा बढी एकदिन तँ आफैँ रुनेछन्’ भनेर आमाले भनेको कुरा नै मिलनलाई सुध्रने बाटोतर्फ डो-याउने अस्त्र बन्यो । फलतः आज उनी पुनर्जीवन नेपालमै कार्यक्रम संयोजककारूपमा कार्यरत छन् । विगतमा आफैँ विचलित भएका मिलन अचेल अरूलाई विचलित हुनबाट बचाइरहेका छन् । 

बायाँबाट क्रमशः शिवचरण र मिलन । 

प्रेमवियोगको पीडाले दुव्र्यसनमा
माथिका पात्रको जस्तै कथा छ, वीरगञ्ज निवासी राजकुमार तामाङको पनि । कुनै पनि बाबुले चाहँदैन कि आफ्नो सन्तान पक्राउ परोस् । तर राजकुमार यस्ता पात्र हुन् जसलाई आफ्नै बुबाले दुई/दुई पटक पक्राउ गरेर हिरासतमा राखेका छन् । नेपाल प्रहरीमा असइ (प्रहरी सहायक निरीक्षक) मा कार्यरत उनका बुबाले बाटोमा अचेत अवस्थामा हिँड्दै गर्दा भेट्टाउँथे भने आमाले एकदिन फोहोरको थुप्रोमा दयनीय अवस्थामा भेट्टाएको उनले स्मरण गरे–एक दिन नशाको तालमा वीरगञ्ज भन्सार नजिकको फोहोरको थुप्रोमा भोकले छट्पटिएर खानेकुरा खोज्दै गरेको अवस्थामा मलाई आमाले भेट्टाउनुभएको थियो जुन पल अहिले सम्झँदा पनि मलाई असह्य पीडा हुन्छ ।

कक्षा ८ मै पढ्ने बेला प्रेममा धोका पाएपछि उनले साथीको सङ्गतमा लागूऔषधलाई आफ्नो साथी बनाए । ‘न धुवा आउँछ न त त्यति महँगो नै पर्छ, बरु सबै पीडा भुलाउनका लागि सहयात्री बनिदिन्छ’ भन्दै उनले ती दिन सम्झिए । लागूपदार्थ सेवन गरेरै उनको दैनिकी बित्न थाल्यो । लागूपदार्थको नशाले आफ्नै शरीरका इन्द्रियहरू पनि उनको नियन्त्रण भन्दा बाहिर रहन थालेपछि सही र गलतबीचको भिन्नता पहिल्याउन सक्ने क्षमतासमेत हुँदैनथ्यो । 

कुलतमा फसेका राजकुमारले आम्दानीको बाटो केही नभेटेपछि रिक्सा चलाउनेदेखि भारतका विभिन्न शहरमा काम गरेको अनुभव पनि बटुलेका छन् । १३ वर्षसम्म लागूऔषधको दलदलमा फसेका उनी थुप्रै उतारचढावको सामना गर्दागर्दा अहिले सामुदायिक संस्था ‘सानो पाइला’ ले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रमा कार्यक्रम संयोजकका रूपमा कार्यरत छन् । लामो समयसम्म लागूऔषध दुव्र्यसनले ग्रसित राजकुमार अहिले अरू सयौँ युवालाई नशामुक्त बनाउने अभियानमा लागिरहेका छन् । 

लागूऔषध प्रयोगकर्तालाई प्रशिक्षण दिँदै राजकुमार । 

पुर्नस्थापना केन्द्रहरूको छाता सङ्गठन रिकभरीङ् नेपाल मधेस प्रदेशका कोषाध्यक्षसमेत रहेका तामाङकाअनुसार पर्सा जिल्लामा ९ वटा पुनस्र्थापना केन्द्र छन् । मधेस प्रदेशमा रिकभरीङ नेपालसँग आबद्ध भएका २५ वटा संस्था रहेका उनले जानकारी दिए । देशैभर रिकभरीङ् नेपालसँग आवद्ध भएका १ सय ६६ वटा संस्था रहेको संस्थाका केन्द्रीय अध्यक्ष दिलिप गुरुङ्ले जानकारी दिए । लागूऔषध नियन्त्रण शाखाकाअनुसार नेपालभरीमा लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिहरुलाई दुव्र्यसनबाट छुटाई समाजमा पुर्नस्थापना गर्नका लागि २ सय ४० भन्दा बढी उपचार तथा पुर्नस्थापना केन्द्रहरु सञ्चालनमा छन् । 

सिर्जनशील उमेर समूह नै दलदलमा
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा मधेस प्रदेशमा अधिकांश युवा लागूऔषध दुव्र्यसनमा फस्ने गरेको स्पष्ट हुन्छ । मधेस प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा लागूऔषध मुद्दामा मधेस प्रदेशमा १३ सय १४ जना अभियुक्त पक्राउ परेका छन् । जसमध्ये १६ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ६ सय ४६ जना छन् । १६ वर्षभन्दा मुनिका २० जना हुँदा २६ देखि ३५ वर्षसम्मका ४ सय ३८ जना, ३५ देखि ४५ वर्षसम्मका १ सय ५७ जना, ४६ देखि ६० वर्षसम्म्का ४४ जना, ६० वर्षभन्दा माथिका ७ जना र उमेर नखुलेका २ जना रहेका प्रहरी उपरीक्षक श्रेष्ठले उपलब्ध गराएका तथ्याङ्कमा उल्लेख छ ।

आ.व. २०७८/७९ मा मधेस प्रदेशको लागूऔषध मुद्दामा अपराध अभियुक्तको संख्या ।

यस्तै गत आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १३ सय ४ जना अभियुक्त पक्राउ परेका छन् । जसमध्ये पनि सबैभन्दा धेरै १६ देखि २५ वर्षको उमेर समूह नै छन् । उक्त उमेर समूहका ६ सय ७१ जना अभियुक्त लागूऔषधसम्बन्धी कसूरमा संलग्न हुँदा १६ वर्षभन्दा मुनिका १४ जना, २६ देखि ३५ वर्ष उमेर समूह ४ सय १६ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका १ सय ७० जना, ४६ देखि ६० वर्षसम्म २८ जना, ६० वर्षमाथिका ३ जना र उमेर नखुलेका २ जना छन् ।

आ.व. २०७९/८० मा मधेस प्रदेशको लागूऔषध मुद्दामा अपराध अभियुक्तको संख्या ।

गृहमन्त्रालयअन्तर्गतको लागूऔषध नियन्त्रण शाखाले २०७६ सालमा गरेको एक सर्वेक्षणअनुसार मधेस प्रदेशका १५ हजार ६ सय १४ जना पुरुष लागूऔषध प्रयोगकर्ता हुँदा २ सय २० जना महिला छन् । यो प्रदेशमा जम्मा १५ हजार ८ सय ४३ जना लागूऔषध प्रयोगकर्ता हुँदा कोसी प्रदेशमा २७ हजार ६ सय ५, वाग्मती प्रदेशमा ४६ हजार ४ सय ८०, गण्डकी प्रदेशमा ८ हजार ९ सय ५६, लुम्बिनी प्रदेशमा २५ हजार ९ सय ३०, कर्णाली प्रदेशमा १ हजार ८ सय ११ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ सय ८ गरी जम्मा १ लाख ३० हजार ४ सय २५ जना लागूऔषध प्रयोगकर्ता थिए ।

लागूऔषध प्रयोगकर्ताको प्रदेशगत अवस्था । 

यद्यपि यो सङ्ख्या अहिले बढेको हुन सक्ने भएकाले यो वर्ष फेरि सर्वेक्षण गर्ने तयारी भइरहेको लागूऔषध नियन्त्रण शाखाका प्रमुख शम्भुप्रसाद रेग्मीले बताए । रेग्मीकाअनुसार उक्त सर्वेक्षणबाट सबैभन्दा धेरै ३४ दशमलव ९० प्रतिशतले धुवाँको माध्यमबाट लागूऔषध प्रयोग गर्ने गरेका छन् भने ३३ दशमलव ७० प्रतिशतले मुखबाट, २९ दशमलव ३० प्रतिशतले सुइबाट र २ दशमलव १० प्रतिशतले सुँघेर लागूऔषध प्रयोग गर्ने गरेका छन् । जसमध्ये अधिकांशले साथीसङ्गीको लहलहैमा लागेर लागूऔषध प्रयोग गर्ने गरेका पाइएको छ । 

लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार ६७ दशमलव ७ प्रतिशतले साथीसङ्गीको लहलहैमा लागेर प्रयोग गर्ने गरेका पाइयो भने डुलन्ते बिक्रेताको माध्यमबाट १४ दशमलव १ प्रतिशत, औषधि पसलबाट ८ दशमलव ४ प्रतिशत, अन्य पसलबाट ७ दशमलव २ प्रतिशत, इन्टनेटको माध्यमबाट २ दशमलव ५ प्रतिशत र अन्य माध्यमबाट ० दशमलव ४ प्रतिशत लागूऔषध दुव्र्यसनीमा फस्ने गरेका पाइएको छ । 

लागूऔषध प्रयोग गर्ने तरिकाको तथ्यांक । 

लागूऔषध प्रयोगबाट शारीरिक र मानसिकरूपमा स्वास्थ्यमा असर पर्ने वीरगञ्जस्थित नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंह बताउँछन् । उनकाअनुसार लागूऔषधको प्रकारमा स्वास्थ्यमा पर्ने असर भर पर्छ । शारीरिक असरअन्तर्गत खानामा रुचि नहुने, तौल घट्दै जाने, एचआइभी/एड्स, हेपाटाइटिस तथा अन्य यौनजन्य रोगको सङ्क्रमण हुने जस्ता असर देखिन गरेको डा. सिंहको भनाइ छ । ओभर डोज हुँदा अकालमै ज्यान जाने जोखिम पनि हुने गरेका उनले बताए । त्यस्तै उनकाअनुसार मानसिकतर्फ एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, स्मरण शक्ति ह्रास हुने, नकारात्मक भावनासिर्जना हुने, आत्महत्या गर्न प्रेरित हुने जस्ता मानसिक समस्या पनि देखिने गरेको डा. सिंहले बताए । शारीरिक र मानसिकसँगै पारिवारिक तथा सामाजिकरूपमा पनि पारिवारिक असमझदारी बढ्ने, घरका सामानचोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने जस्ता समस्या देखिने उनको अनुभव छ । 

वि.सं. २०३३ सालभन्दा अगाढी नेपालमा गाँजाजन्य पदार्थहरु खुल्लमखुल्ला रुपमा बिक्रि वितरण हुने गर्दथे । लागूऔषध नियन्त्रण ऐन २०३३ कार्यन्वयनमा आइसकेपछि लागूऔषधलाई कानुनतः प्रतिबन्ध लगाइयो । नेपालमा लागूऔषध नियन्त्रणका लागि औपचारिक रुपमा भएको पहिलो प्रयास नै यही थियो । यद्यपी विश्वमा भने सन् १९६१ मै सयुंक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्ले सिंगल कन्भेन्सन अन नार्काेटिक ड्रग्स १९६१ लागू गरेपछि विश्वस्तरबाट यसको नियन्त्रण सुरुवात भएको हो । नेपालमा लागूऔषध नियन्त्रणको सुरुवात भएको झण्डै आधा शताब्दी बितीसक्दा पनि लागूऔषध प्रयोगकर्ताहरुको संख्या घट्नुको साटो उल्टै बढ्दै जानुलाई चिन्ताजनक अवस्था मान्न सकिन्छ । 

सरकारी प्रयास अपर्याप्त, ऐन संशोधन गर्न माग
देशका मेरुदण्ड भनिने युवा जमात नै लागूऔषधको दलदलमा फस्दा यसले भयावह अवस्था आउन सक्नेतर्फ रिकभरीङ् नेपालका कार्यकारी प्रमुख बिष्णु फुयाँल शर्मा चिन्तीत छन् । उनकाअनुसार देशैभर अहिलेसम्म १५ देखि २९ वर्ष उमेर समुहका झण्डै ७० प्रतिशत युवाहरु कुलतको दलदलमा फसेका छन् । यति धेरै सम्बेदनशील विषयलाई सरकारले गम्भिरताका साथ नलिएको उनको तर्क छ । उनी भन्छन्, ‘भोलीका देशका भविष्य र कर्णधार मानिने युवा जमात कुलतको दलदलमा फसीरहँदा पनि सरकारले यसतर्फ खासै चासो नदिएको पाइन्छ । एक वर्षमा लागूऔषध नियन्त्रणको क्षेत्रमा सरकारले बिनियोजन गर्ने बजेट ५ लाख पनि हुँदैन ।

सरकारले यस विषयलाई गम्भिर रुपमा नलिएको यसैबाट प्रमाणित हुन्छ ।’ पछिल्लो समय स्थानीय सरकार आएसँगै मनोसामाजिक उपचार, परामर्श तालिम, युवा लक्षित सचेतनाका अभियानहरु सञ्चालन भइरहेकोमा खुशी व्यक्त गर्दै उनले यि प्रयासहरु पर्याप्त नभएको बताए । नेपाल सरकार भन्दा पनि रिकभरीङ् नेपाल लगायत अन्य सामुदायिक एवम् गैरसरकारी संघसंस्थाहरुको प्रयासले केही हदसम्म काम भइरहेको उनले दाबी गरे ।

सरकारको बजेट अपुग भएको अवस्थामा सरकारी योजना तथा कार्यक्रममा रिकभरीङ् नेपालले सहयोग गर्ने गरेको पनि उनले जानकारी दिए । लागूऔषध सम्बन्धी २०३३ सालमा आएको ऐन पश्चात चार वटा संविधान फेरिएपनि कुनै कार्यविधि तथा ऐन नआएकोमा उनको आपत्ती छ । प्रदेश तथा स्थानीय सरकारले गर्ने कामको अधिकार लगायतका बारेमा स्पष्ट व्यवस्था हुने गरी ३३ सालको ऐनलाई संशोधन गर्नुपर्ने उनको माग छ । 


 

Back to top