साङ्केतिक तस्विर ।
वीरगञ्ज । रक्सौल-काठमाडौँ विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ । भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो । भारतले रक्सौलबाट सिधा काठमाडौँ जोड्ने गरी विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सर्भे सम्पन्न भएको हो । २०७८ सालको असोजमा १८ महिनाभित्र सकाउने गरी नेपाल र भारतबिच द्विपक्षीय समझदारी भएको थियो । यसअघि भारतको आर्थिक सहयोगमै सन् २०१९ मा रेलमार्गको ‘प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक’ (पीईटी) सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो । उक्त प्रतिवेदनले रेलमार्गको लागत करिब साढे २ खर्ब रुपैयाँको अनुमान गरेको थियो ।
भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसियल)ले नै रेलमार्गको पीईटी र एफएलएस अध्ययन गरेको हो। भारतको विदेश मन्त्रालयले केआरसियल मार्फत रेलमार्गको अध्ययन गराएर प्रतिवेदन नेपाललाई बुझाएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकार बताउँछन् ।
पहिलाको पीईटी सर्भेले रक्सौलदेखि काठमाडौँको कुल लम्बाइ १ सय ३६ किलोमिटर हुने ठहर गरेकोमा एफएलएसले भने १ सय ४० किलोमिटर लम्बाइ हुने देखाएको उनी बताउँछन् । ‘निजगढ विमानस्थल बनाउने सरकारको निर्णयपछि विमानस्थलको मध्य वा छेउबाट रेल जान मिलेन । त्यसलाई अलिकति डिटुर गर्दा १ सय ४० किलोमिटरको हाराहारीमा आउने देखिन्छ,’ प्रवक्ता चित्रकारले भने । रक्सौलदेखि काठमाडौँको बिचमा १३ स्टेसन हुने पनि अध्ययनले देखाएको छ । रक्सौलबाट आउने क्रममा रेल पर्साको वीरगञ्ज, बारा, मकवानपुर हुँदै काठमाडौँको चोभारमा अन्तिम स्टेसन हुनेछ ।
तराई हुँदै पहाडमा पनि रेल कुदाउनुपर्ने भएकाले टनेल र पुलहरू धेरै बनाउनुपर्ने अध्ययनले देखाएको छ । रेलमार्गको कुल लम्बाइमा करिब ४१ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनमा उल्लेख छ । ब्रोडगेज रेल भएकोले अधिकतम गति १ सय २० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ । भारतीय पक्षबाट प्रतिवेदन हस्तान्तरण भइसकेको हुँदा अब सरकारले यसमा परामर्श लिने काम गर्नेछ । निर्माणको चरणमा जानका लागि लगानीको मोडालिटी के हुने सम्बन्धमा दुई देशबिच छलफल हुन सक्ने बताइएको छ ।
विश्वमा प्रचलित स्ट्यान्डर्ड गेजको रेल बनाउने नेपालको प्रस्ताव अस्वीकार गरेको भारतले काठमाडौँ–रक्सौललाई ब्रोडगेजमा नै बनाउने अडान कसेको हो । भारत सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा ब्रोडगेजको सम्भावना त देखायो तर रेल निर्माणपछि सञ्चालनमा कठिनाइ हुने विज्ञहरूले बताउँदै आएका छन् । नेपालले आफ्नै लगानी अध्ययन गरेको पूर्व–पश्चिम रेलमार्ग र चीनको केरुङबाट काठमाडौँ जोड्ने रेल दुवै नै स्ट्यान्डर्ड गेजमा बनाउने भनिएको छ । अहिले स्ट्यान्डर्ड गेजलाई नवीनतम प्रविधि मानिन्छ भने भारतले नै पछिल्लो समयमा निर्माण गरेका नयाँ रेलमार्ग स्ट्यान्डर्ड गेजमा बनाइरहेको प्रवक्ता चित्रकारले जानकारी दिए । अन्नपूर्णापोस्टबाट ।