×

वीरगञ्ज । एसइई पास गरी ११ र १२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई वीरगञ्ज महानगरपालिकाले दिँदै आएको छात्रवृत्तिमा सेटिङ हुने गरेको पाइएको छ । वीरगञ्जमा सञ्चालित एक इन्स्टिच्युटका सञ्चालकले छात्रवृत्ति मिलाइदिन्छु भन्दै गरेको कुराकानीको अडियो ‘लिक’ भएसँगै यसमा हुने सेटिङको कुरा बाहिरिएको हो । 

वीरगञ्ज – ६ स्थित मोदी इन्स्टिच्युटका एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक राहुल कुमार मोदीले एक जना अभिभावकसँग महानगरबाट उपलब्ध हुने छात्रवृत्तिको परीक्षामा पास गराइदिन्छु भन्दै एक लाख रुपैयाँ माग गरेको अडिओ यात्रा डेलीले प्राप्त गरेको छ । अडिओमा मोदीले वीरगञ्जको जुनसुकै शैक्षिक संस्थामा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई आफूले महानगरबाट पाइने छात्रवृत्ति पास गराइदिने ती अभिभावक समक्ष दाबी गरिरहेको सुन्न सकिन्छ ।

कुराकानीका क्रममा छात्रवृत्तिमा पास गराउन एक लाख रुपैयाँ लाग्ने मोदीले बोलिरहेको स्पष्टसँग सुन्न सकिन्छ । ‘छात्रवृत्तिमा पास गराउने जिम्मा मेरो हो, तपाईँले मात्र मागेअनुसार एक लाख रुपैयाँ दिनुपर्छ,’ उनले भनेका छन् । अभिभावकबाट प्राप्त भएको एक लाख रुपैयाँको केही भाग वीरगञ्ज महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाका कर्मचारी र छात्रवृत्ति परेको विद्यालयलाई पनि दिनुपर्ने उनले उल्लेख गरेका छन् ।

अहिले कक्षा ११ को भर्ना चलिरहँदा उनले आफ्नो इन्स्टिच्युटमा पढ्ने विद्यार्थीहरूका अभिभावकलाई बोलाएर यस्तो ‘अफर’ दिएको नाम नखुलाउने सर्तमा एक अभिभावकले बताए । ‘बच्चा मार्फत इन्स्टीट्युटमा हामीलाई बोलाएर राहुल मोदी सरले एक लाख रुपैयाँमा रोजेको विद्यालयमा छात्रवृत्ति परीक्षामा पास गराइदिन्छु भनेर अफर दिनुभएको छ,’ ती अभिभावकले भने । 

छात्रवृत्तिमा पास गराउनका निमित्त फारम भर्ना बित्तिकै आफूसँग सम्पर्क गर्न मोदीले आग्रह गरेका छन् । ‘अहिले तपाईँ बच्चालाई उसले रोजेको कलेजमा गएर भर्ना गराउनुस्, पछि महानगरले छात्रवृत्तिका लागि आह्वान गरेपछि फारम भरेर एड्मिट कार्ड लिनुहोला, त्यसपछि छात्रवृत्ति परीक्षामा पास गराउने जिम्मा मेरो हुन्छ,’ अडिओमा उनले भनिरहेका छन् । 

गरिब, विपन्न, असहाय र जहेन्दार विद्यार्थीका लागि नेपाल सरकारले अनिवार्य गरेको छात्रवृत्ति कार्यक्रममा कर्मचारीको संलग्नतामा यसरी सेटिङ हुँदासमेत महानगरको वर्तमान नेतृत्व अनभिज्ञ छ । वीरगञ्जका मेयर राजेशमान सिंहले सुशासनमा कुनै ‘कम्प्रोमाइज’ नहुने बताइरहँदा उनकै नाकको तलबाट कर्मचारीले सेटिङ धन्दा चलाइरहेको यसले पुष्टि हुन्छ ।

यस विषयमा बुझ्न मोदी इन्स्टिच्युटका एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक राहुल कुमार मोदीसँग कुराकानी गर्न खोज्दा उनको फोन लागेन । 

स्रोतका अनुसार मोदी नेपाली नागरिक होइनन् । नेपाली छोरी गुञ्जन मोदीसँग विवाह गरेर उनको नामबाट दर्ता गराएर इन्स्टीट्युट चलाइरहेका छन् । इन्स्टिच्युट मार्फत उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि विभिन्न देशमा समेत पठाउने गरेका छन् ।

Back to top