×

वीरगञ्ज ।  डिजिटल ठगी बढ्दै गएको अवस्थामा मञ्जुश्री फाइनान्सले डिजिटल सचेतनाको अभियान थालेको छ । अभियानअन्र्तगत मञ्जुश्री फाइनान्सको वीरगञ्ज शाखाले शुक्रवार डिजिटल सचेतनाका सम्बन्धमा नागरिकलाई सचेत गराएको छ । 

मोवाइल बैंकिगमार्फत भइरहेका ठगीका घटनाहरु सिलसिलाबद्ध ढंगले भइरहेको समयमा फाइनान्सले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकलाई सचेत बनाउने अभियान थालेको फाइनान्सका वीरगञ्ज शाखा प्रबन्धक दिगम्बर थापाले बताए । थापाकाअनुसार मञ्जुश्री फाइनान्सका हरेक शाखाले आ–आफ्नो स्थानमा डिजिटल सचेतना सम्बन्धी कार्यक्रम गरीरहेका छन् । उनी भन्छन्, ‘मोवाइल बैंकिगबाट पछिल्लो समय ठगीका घटना भइरहेका छन्, ओटिपी कोड शेयर गर्ने तथा विभिन्न चिट्ठा परेको प्रलोभनमा रकम झिकेर ठग्ने जस्ता घटनाबाट सचेत गराउन यस्तो अभियान थालिएको हो ।’ 

डिजिटल बैंकिगप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै फाइनान्सले यस्तो अभियान थालेको थापाको भनाई छ । थापाकाअनुसार अधिकांश नागरिक डिजिटलका बारेमा जानकार छैनन् । बढ्दो प्रविधिको प्रयोगसँगै डिजिटल सम्बन्धी जानकारी पनि लिनुपर्ने आवश्यक्ता उनले औँल्याए । 

फाइनान्सका कर्मचारीहरुले वीरगञ्जका विभिन्न स्थानमा पुगेर सर्वसाधारण एवम् नागरिकहरुलाई डिजिटल सचेतनाका बारेमा जानकारी गराएका थिए । उनीहरुले डिजिटल सचेतना सम्बन्धी प्लेकार्ड समेत बोकेर उनीहरु पैदल यात्रुदेखि पसल व्यवसाय गर्नेसम्मलाई सुसुचित गराएका थिए ।  

डिजिटल सचेतना अभियानमा फाइनान्स वीरगञ्ज शाखाका हरि मानन्धर, शीखा खड्की, ईश्वरी श्रेष्ठ, रवी गिरी, पुकार सुवेदी, श्यामनारायण ठाकुर, एलिशा जोशी, बिकास मानन्धर लगायतको सक्रियता रहेको थियो । 

देशैभर २७ वटा शाखा रहेको मञ्जुश्री फाइनान्सको कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको फाइनान्स वीरगञ्ज शाखाकी वर्षा वर्णवालले जानकारी दिइन् । उनकाअनुसार फाइनान्सले हाल मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर समेत प्रदान गर्दै आएको छ ।


 

Back to top