×

फाइल तस्विर ।

वीरगञ्ज । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ । सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ । 

भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताए । “अहिले सडक विस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन (मार्गनिर्देशन) नै गलत छ। हामी पहिला पहाडको चट्टान काट्छौँ । अनि तल सामान्य ‘टोवाल’ लगाएर माथि त्यसै छाड्छौँ । अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो”, लामो समयदेखि सडकसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुट्नुभएका डा. दाहालले भने । 

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो । एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आईसीटी)ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो ।

आईसीटीको विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो । सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि गर्‍यो तर पहिरो रोकिएन । सडकको २० किलो, १४ किलो, १४ किलो, पाँचकिलो, चार किलोलगायत एक दर्जन ठाउँमा अहिले पनि सामान्य वर्षात् हुँदा पहिरोको समस्या भइरहन्छ । प्राविधिक त्यो अध्ययन टोलीको रायसुझावभन्दा पनि बाहिरबाट पहिरो झरेर समस्या दिएको बताउँछन् । 

यो वर्ष जोखिम बढी 

यो वर्ष पहिरोले अझ बढी दुःख दिने विज्ञको अनुमान छ । यो सडकमा अहिले केही पूल तयार भएका छन् भने केही निर्माण भइरहेका छन् । यी पुल बनाउँदा पनि चिसेन्जी, तुइन, काली, सिमलताल र नाम्चे खोलामा पुल निर्माण गर्दा भित्ता काटिएकाले पहिरोको जोखिम बढेको हो ।

विश्व बैङ्ककै एक अर्ब २७ करोड पाँच लाख रुपियाँ सहयोगमा २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका १९ पुलमध्ये १५ वटा पूल अहिले निर्माण भइरहेका छन् । यीमध्ये ११ वटा पूलको निर्माण सम्पन्न भएकाले हस्तान्तरणको तयारीमा छन् । “नयाँ भित्ता काटिएकामध्ये सबैभन्दा जोखिम नाम्चे पुलसँगैको पहिरो हो । यसबाहेक १८ किलो र केराबारीमा पनि समस्या हुने देखिन्छ”, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने । यससँगै यो सडकमा अहिले टोपेखोला, चार किलो, जलबिरे, भालुढुङ्गे क्षेत्रमा पनि पहिरोको जोखिम छ ।  

अस्थिर बन्यो पहाड

हाल सडक विभागमा कार्यरत भरतपुर डिभिजन सडक कार्यालय भरतपुरका पूर्वप्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाले पुनर्निर्माणकै क्रममा काटिएका पहाड स्थिर नभएकै कारण पहिरो चलिरहेको बताए । 

“हरेक वर्ष नयाँ–नयाँ ठाउँबाट पहिरो झरिरहेको छ । यसको कारणबारे अध्ययन हुन जरुरी त पर्छ नै तर सेट भएर बसेको राजमार्ग हामीले चलायौँ (पुनर्निर्माण गर्ने काम) फेरी सेट हुन पनि त समय लाग्छ,” उनले भने । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार यस वर्षको साउनयता मात्रै यो सडकमा २५ पटक पहिरो झर्दा १०९ घण्टा अवरुद्ध भएको घटनाले पनि यो सडकको यात्रा अझै असुरक्षित छ भन्ने देखाउँछ ।

देशकै प्रमुख राजमार्गमध्येको एक हो नारायणगढ–मुग्लिन सडक । सङ्घीय राजधानी काठमाडौँलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य अत्यावश्यक सामान पनि यही सडकबाट आपूर्ति हुन्छ । राजधानीलाई तराईका जिल्लासँग जोड्ने यो मुख्य सडक एकैछिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारीसाधन र लाखौँ यात्रु अलपत्र पर्छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, भूगर्भ शास्त्रका विभागीय प्रमुख खुमनारायण पौडेलले सडक विस्तारका क्रममा तालमेल नहुँदा पनि समस्या भएको धारणा व्यक्त गरे । “एउटै बाटोको पुल बनाउँदा छुट्टै अनि सडक बनाउँदा छुट्टै पहाड काट्नुपर्ने भएपछि जोखिम त बढ्ने नै भयो नि। एकै पटक पहाड चलाएका भए यो समस्या हुन्थ्यो र ?,” उनले भने । 

जैविक विधिबाट संरक्षण गर्छौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा स्रोत साधनको अभावमा एकै पटक ठूला आयोजना गर्न नसकिने बताए । “यही सडक पनि स्रोत खोजेर बनाइएको हो। अनि एकै पटक कसरी सम्पन्न गर्न सक्छौँ,” उनले भने । 

विज्ञहरूले औँल्याएजस्तो पहिरो नियन्त्रणमा हुने अध्ययन अनुसन्धान कमजोर नभएको पनि उनले दावी गरे । “हामीले विगतमा पृथ्वी राजमार्गलाई अति दुःख दिने कृष्णभीर, जोगिमारा जस्ता पहिरो त नियन्त्रण ग-यौँ भने नारायणगढ–मुग्लिन सडक माथिका पहिरो पनि नियन्त्रणमा आउनेछ,” उनले भने । कृष्णभीर र जोगिमारामा जैविक विधि अर्थात् वृक्षरोपण गरेर नै पहिरो नियन्त्रण गरिएको हो । यो काम नारयणगढ–मुग्लिन सडकमा पनि सुरु भइसकेको उनले बताए । 

भूगर्वविद् डा. रञ्जनकुमार दाहालले पहिरो नियन्त्रणमा परम्परागत विद्याभन्दा पनि नयाँ ज्ञान, सीपलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । उनले भने, “पहिला नयाँ शैलीबाट पहिरोको अध्ययन गरौँ। नियमन निकाय इञ्जिनियरिङ काउन्सिललाई जिम्मेवार बनाउँदै भूगर्वविद्ले ल्याएको सुझाव पालना गर्ने हो भने मात्रै पनि पहिरो नियन्त्रण गर्न सकिन्छ ।” स्थानीय स्रोतसाधन र नवीनतम ज्ञान र सीपको भरपूर उपयोग गरेर भौगोलिक अवस्थालाई ध्यानमा राख्दै पहिरो नियन्त्रणको प्रयास गर्नुपर्ने उनको सुझाव छ । गोर्खापत्र दैनिकबाट साभार ।

Back to top