×

वीरगञ्ज । ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन् । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो भेरियन्ट डेल्टा भेरियन्टसँग मिल्दाजुल्दो भएकाले सचेत रहन आग्रह गरेको हो । यसका लक्षण कडा खालका हुने उनको भनाइ छ । 

उनि भन्छन्, ‘‘ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ नेपालमा पनि पुष्टि भएको छ । ओमिक्रोनका अन्य भेरियन्टको तुलनामा कडा खालको छ । यसका लक्षण हेर्दा डेल्टा भेरियन्टसँग मिल्दाजुल्दो छ ।’’

यो भेरियन्टका साथै ओमिक्रोनका नौ वटा सब भेरिएन्ट नेपालमा संक्रिय भएकाले धेरैलाई संक्रमित बनाउने आशंका छ । यो भेरियन्ट भारतमा फैलिरहेको छ । यसका भेरियन्ट फैलिए पनि अस्पतालमा भर्ना हुने दर भने निकै कम भएको डा. पुनको तर्क छ । अहिले नै यो भेरियन्ट कस्तो हो र नेपालमा कसरी फैलिन्छ भन्ने विषयमा तत्काल केही भन्न नसकिने उनको भनाइ छ । 

डा. पुन भन्छन्, ‘‘अहिले नै यो भेरियन्ट यस्तो छ भनेर भन्न सक्ने अवस्था छैन । भारतमा संक्रमणदर बढी भएपनि अस्पतालमा भर्ना हुने दर निकै न्यून छ । त्यसैले, नेपालमा आगामी दिनमा यो भेरिएन्ट कुन रुपमा फैलिन्छ हेर्न बाँकी छ ।’’

१.१६ डेल्टा भेरियन्टका लक्षण

यो भेरिएन्टका कारण रुघा, अत्याधिक खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने र स्वाद र गन्ध हराउने, जाडो हुने जस्ता लक्षण लिएर बिरामी अस्पताल आउने गरेको डा. पुनको भनाइ छ । अन्य भेरियन्टमा जस्तै यो भेरियन्टमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती अन्य दीर्घ रोगी जोखिम हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार कोरोना विरुद्धको खोप नलगाएकालाई पनि यो भाइरसले जटिल अवस्थामा पुर्याउँछ । 

बच्ने उपाए

यसका लक्षण नदेखिएमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न चिकित्सकको सुझाव छ । तातो पानी पिउने, बाफ लिने, झोलिलो खानेकुरा खाने र गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न चिकित्सकको आग्रह छ । 

खोप लगाउन आग्रह

बूस्टर डोज लगाएको छदेखि एक वर्षमा यसको प्रभावकारिता कम हुँदै जाने विभिन्न अध्ययनले देखाएको छ । नेपालमा बूस्टर डोज खोप लगाएको लामो समय भएकाले यसको जोखिमबाट बच्न पुन कोरोनाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । सरकारले नजिकको स्वास्थ्य संस्थाबाट दोस्रो बूस्टर डोज खोप दिन सुरु गरिसकेको छ । 

आइसोलेसनमा बस्न आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले यो भाइरस छिमेकी देश भारतमा फैलिएकाले नेपालमा पनि फैलन सक्ने बताएका छन् । उनले रुघा, खोकी र ज्वरो जस्ता कोभिड-१९ का लक्षण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न आग्रह गरे ।    

कोभिड नियन्त्रण गर्न सबै तहलाई अनुरोध 

प्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा यो भेरियन्छ फैलिन नदिन मन्त्रालयले सीमाबाट आवत जावत गर्ने शंकास्पद लक्षण भएका यात्रुमाथि निगरानी बढाएको छ । सीमा क्षेत्रका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड-१९ परीक्षण गर्ने व्यवस्था गरेको छ । यदि नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नु परेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको सह प्रवक्ता डा.अधिकारीले जानकारी दिए । नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै स्थानीय तहलाई प्रभावकारी भूमिका खेल्न मन्त्रालयले अनुरोध गरेको छ । 

आजको गोर्खापत्र दैनिकबाट साभार ।

Back to top