×

वीरगञ्ज, १४ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ । राष्ट्रपति पदका लागि नयाँ आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र  नेम्वाङको उम्मेदवारी परेको छ । 

यी दुई उम्मेदवारहरूमध्ये कसले बाजी मार्ला ? यसको जवाफका लागि पहिले निर्वाचनसम्बन्धी कानूनी व्यवस्थाको चर्चा गरौं । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनी व्यवस्था अनुसार राष्ट्रपतिको उम्मेदवारले कुल मतको बहुमत प्राप्त गर्नुपर्छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) ३३३ सदस्य र प्रदेश सभाका ५५० सदस्यले मतदान गर्नेछन् । 

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको १ मत बराबर ७९ मतभार हुनेछ । यस आधारमा संघीय संसदका ३३२ सांसद (एक सांसदको पद खारेज भएको)को कूल मतभार २६ हजार २२८ हुनेछ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वाेच्चले खारेज गरेको थियो । 

यस्तै, प्रदेश सभा सदस्यको मतभार भने ४८ छ । यस आधारमा प्रदेश सभाका सदस्यको कुल मतभार २६ हजार ४०० हुन्छ । अर्थात् राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६२८ हुन्छ । यस आधारमा राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३१४ भन्दा बढी मतभार ल्याउनुपर्ने हुन्छ । 

यसमा कुन उम्मेदवारले बाजी मार्ला त ? यसबारे चर्चा गरौं । यसका लागि सबैभन्दा पहिले कुन दलसँग कति मतभार छ भन्ने हिसाब गर्नुपर्ने हुन्छ । 

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबैभन्दा धेरै १६ हजार २२१ मतभार छ । एमालेसँग १५ हजार २३३ र  माओवादी केन्द्रसँग ७ हजार ६४९ मतभार छ । त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५७४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग २ हजार ४५० र जनता समाजवादी पार्टी (जसपा)सँग २ हजार १४५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५०१ र जनमत पार्टीसँग १ हजार २४२ मतभार छ । स्वतन्त्र सांसदहरूको भने १०५० मतभार छ । 

अन्य दलहरूको मतभार हजारभन्दा कम छ । राष्ट्रपति निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेपाल मजदुर किसान पार्टीसँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, हाम्रो नेपाली पार्टीसँग ९६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र नेपाल समाजवादी पार्टीसँग ४८ मतभार छ । 

अब कुन उम्मेदवारको पक्षमा कति मत खस्ला भन्ने चर्चा गरौं । यसमा सबैभन्दा पहिले रामचन्द्र पौडेलको कुरा गरौं । पौडेल हालै बनेको नयाँ आठ दलीय गठबन्धन (कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा)का उम्मेदवार हुन् । यी दलहरूको मतभार ३१ हजार ८२१ मतभार छ । 

यी सबै दलका सांसदहरूले पौडेललाई मत दिए अबको राष्ट्रपतिमा उनी नै निर्वाचित हुनेछन् । राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक हेर्दा नयाँ गठबन्धनमा आवद्ध दलका सांसद छन् । 

यो अवस्थामा बाँकी सबै दल र स्वतन्त्र सांसदहरूको मत पाए पनि एमाले उम्मेदवार नेम्वाङ चुनाव जित्न सक्ने छैनन् । अर्थात् यी सबैको मतभार २० हजार ८०७ मात्रै छ । तर, नयाँ आठ दलीय गठबन्धनमा केही गरी फाटो आए नेम्वाङ राष्ट्रपतिमा निर्वाचित नहोलान् भन्न सकिन्न । 

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।        

Back to top