चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्रो दिन महत्त्वपूर्ण बन्दसत्र सञ्चालन हुँदै छ। आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशन असार ९ गतेसम्म चल्ने कार्यतालिका छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गर्ने आजको बन्दसत्रमा विधान संशोधन, विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनहरूमाथिको छलफल र पारित गर्ने कार्यसूची रहेको छ । बन्दसत्रको सम्पूर्ण प्रक्रिया सकिएलगत्तै महाधिवेशन आयोजक समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको छ ।
यस्तो छ आजको बन्दसत्रको कार्यतालिका:
पार्टी सभापति रवि लामिछानेले बिहान ८:३० बजे बन्दसत्रको दोस्रो सत्र प्रारम्भ गरेसँगै प्रतिवेदनहरू पेश हुने क्रम सुरु हुनेछ ।
अनुशासन प्रतिवेदन: बिहान ८:३० देखि ८:५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ ।
वित्तीय प्रतिवेदन: बिहान ९:०० देखि ९:३० सम्म पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
सङ्गठनात्मक प्रतिवेदन: बिहान १०:०० देखि १०:४५ सम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्नेछन्।
विधान संशोधन प्रस्ताव: बिहान १०:४५ देखि ११:४५ सम्म सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने र त्यसलाई हलबाट अनुमोदन गराइनेछ ।
अर्थ-राजनीतिक प्रस्तावना: बिहान ११:४५ देखि दिउँसो १२:१५ सम्म उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको आगामी ‘अर्थ-राजनीतिक प्रस्तावना’ पेश गर्नेछन्।
राजनीतिक प्रतिवेदन: दिउँसो १२:१५ देखि १:१५ सम्म पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ।
निर्वाचन आयोगलाई जिम्मेवारी सुम्पिइँदै
प्रतिवेदनहरूमाथिको छलफल र पारित गर्ने प्रक्रिया सकिएपछि दिउँसो १:१५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। लगत्तै महाधिवेशन आयोजक समितिको तर्फबाट नयाँ नेतृत्व चयनका लागि सम्पूर्ण जिम्मेवारी पार्टीको निर्वाचन आयोग (समिति) लाई हस्तान्तरण गरिनेछ।
नेतृत्व हस्तान्तरणको प्रक्रिया सकिएपछि दिउँसो १:२५ बजेदेखि भोजनको समय छुट्याइएको छ। खाजा र खानाको व्यवस्थापनका लागि बिहान ७:०० बजे र दिउँसो १:२५ बजेको समय तोकिएको छ।
भोजनपछि पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी आवश्यक निर्देशिका, आचारसंहिता र मतदानको विस्तृत तालिका प्रकाशन गर्ने रास्वपाले जनाएको छ। त्यसपछिका उम्मेदवारी मनोनयन लगायतका बाँकी सम्पूर्ण कार्यक्रमहरू निर्वाचन आयोगकै मातहतमा अगाडि बढ्नेछन् ।
रास्वपाले यस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि डिजिटल एन्ड्रोइड प्रविधिमार्फत ‘इलेक्ट्रोनिक भोटिङ’ गर्ने व्यवस्था मिलाइसकेको छ।