×

विश्व स्मार्टफोन बजार निकै चिन्ताजनक अवस्थामा छ । बजारमा स्मार्टफोनको बिक्रीमा निरन्तर गिरावट आइरहेको छ ।

क्यानालिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ११ प्रतिशतले गिरावट आएको छ । यद्यपि सन् २०२२ को चौथो त्रैमासिकमा एप्पल विश्वको सबैभन्दा लोकप्रिय ब्राण्ड बनेको छ ।

चौथो त्रैमासिकमा सामसुङलाई पछि पार्दै एप्पल विश्वमा सर्वाधिक बिक्री हुने स्मार्टफोन ब्राण्ड बनेको हो । वर्षभरिको तथ्यांकमा भने सामसुङ नै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्डको रुपमा रहेको रिपोर्टमा उल्लेख छ ।

क्यानालिसको रिपोर्ट अनुसार चौथो त्रैमासिकमा स्मार्टफोन बजारमा २५ प्रतिशत हिस्सासहित एप्पल सर्वाधिक ठूलो स्मार्टफोन ब्राण्ड बनेको हो । यो एप्पलको अहिलेसम्मकै ठूलो हिस्सा हो । चीनको झेंगझाउमा भएको लकडाउनलगायत कारणले उत्पादनमा गरेको असरका बाबजुद एप्पलले स्मार्टफोन बजारमा आफ्नो पकड मजबुत बनाउन सफल भएको हो । मागमा आएको संकुचनका बाबजुद पनि एप्पलले बिक्रीमा उल्लेख्य प्रगति हासिल गरेको रिपोर्टमा उल्लेख छ ।

चौथो त्रैमासिकमा दोस्रो स्थानमा रहेको सामसुङको बजार हिस्सा २० प्रतिशतमा खुम्चिएको छ । तथापि सामसुङले सन् २०२२ मा वर्षभरिमा सर्वाधिक स्मार्टफोन बिक्री गर्न सफल भयो र सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्डको रुपमा कायम रह्यो ।

चौथो त्रैमासिकमा ११ प्रतिशत बजार हिस्सासहित चिनिया ब्राण्ड शाओमी तेस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा कायम रहे पनि शाओमीको बजार हिस्सा भने घटेको छ । शाओमीले यो अवधिमा भारतीय बजारमा विभिन्न समस्या झेल्नुपरेको छ ।

त्यस्तै १० प्रतिशत बजार हिस्सासहित चिनियाँ ब्राण्ड ओप्पो चौथो स्थानमा रहेको छ भने ८ प्रतिशत बजार हिस्सा रहेको भिभो पाँचौं स्थानमा छ ।

सन् २०२२ मा एक वर्षको अवधिमा स्मार्टफोन बिक्रीको आधारमा पहिलो स्थानमा रहेको सामसुङले वार्षिक बजार हिस्सा २२ प्रतिशत कायम गरेको छ । त्यस्तै एप्पलको १९ प्रतिशत रहँदा शाओमी, ओप्पो र भिभोको बजार हिस्सा क्रमशः १३ र ९–९ प्रतिशत रहेको छ ।

एजेन्सीको सहयोगमा

Back to top