×

सिलिकन भ्यालीको अधिकांश व्यवसाय नयाँ भर्ना अवरुद्ध गर्ने र भएका स्टाफ कटौती गरिरहँदा टिकटक भने अझै नयाँ स्टाफ भित्र्याउने योजना बनाइरहेको छ । छोटो छोटा भिडियो चलाउन मिल्ने एप टिकटकको माउन्टेन भ्यू, क्यालिफोर्नियास्थित अफिसले झण्डै १००० इन्जिनियरहरू भर्ती गर्ने योजना बनाएको सीएनएनले लेखेको छ । 

पछिल्लो समय वाशिंगटनमा टीकटकको मातृ कम्पनीको चीनसँगको सम्बन्धलाई लिएर वाशिन्टनमा वहस तथा छानबिन भइरहेको छ । यसै परिपेक्षामा अमेरिकी प्रयोगकर्ता डेटाको निरीक्षण अमेरिकामै रहेको टिमले गरिरहेको छ भन्ने प्रत्याभूत गर्न नयाँ भर्ती गर्न लागिएको हो । ​

टिकटकका सिइओ शोउ सी च्युउले गत साता सिंगापुरमा आयोजित ब्लुमवर्ग न्यु इकोनोमी फोरममा उनको कम्पनी थप कर्मचारी भर्ती गर्ने योजना बनाएको पुष्टि गरे । उनले अन्य प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गर्न लागेको प्रश्नको जवाफमा यस्तो बताएका थिए ।

हालैका हप्ताहरूमा, मेटाले कम्पनीमा ११ हजार कर्मचारी कटौती गर्न लागेको बताएको थियो । ट्विटरको अधिग्रहण गरेपछि इलोन मस्कले लगभग आधा कर्मचारीहरू कटौती गरिसकेका छन् । त्यस्तै अर्को प्राविधिक कम्पनी अमेजनले कर्मचारी हटाउन लागेको बताएको छ । 

यी कम्पनीका वर्तमान र पूर्व पदाधिकारीहरुले कम्पनी महामारीको समयमा बढेको अनलाइन प्रयोगले छिटो विस्तार भएको र अहिले त्यही अनुरूप उपभोग नभएकाले कटौती गर्न लागेको बताउँछन् । टिकटकले नयाँ भर्ती अभियानलाई आलोचकहरूलाई खुसी पार्न र अमेरिकामा आफ्नो स्थिति बलियो बनाउन प्रयोग गर्न सक्छ ।-सीएनएनबाट

Back to top