×

वीरगञ्ज, १२ कार्तिक ।  पटकपछक विवादमा तानिदै आएको वीरगञ्जको गण्डकस्थित बाइपास सडकमा रहेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटल पुनः विवादमा तानिएको छ ।

कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिकटक भिडियो बनाएर विवादित बनेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलको फेरी अर्काे प्रकरण प्रकाशमा आएको छ । 

हाड सम्बन्धी समस्याको उपचारका लागि अस्पताल आएकी एक नाबालिगलाई अस्पतालकै कर्मचारीले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । 

बिरामीलाई खाना ल्याइदिने र बिरामीकी कुरुवा रहेकी ति नाबालिगलाई आर्थिक प्रलोभन देखाएर अस्पतालमा कार्यरत आकाश मण्डलले जबरजस्ती बलात्का गरेको पिडितले प्रहरीलाई जानकारी गराएकी छिन् ।

पिडितको जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न अस्पतालमा कार्यरत आकाश मण्डललाई अस्पतालबाटै पक्राउ गरेको छ । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यता सञ्चालक महेश्वर कुर्मीले अस्पतालमा आफ्नो एकल नेतृत्व नभएर ८ जना सञ्चालक भएको बताउँदै यो घटनाका सम्बन्धमा उनले भने, ‘यसअघि नारायणी अस्पतालबाट उपचार नभएपछि रिफर गरेर विरामीलाई लगभग २ महिना अघि यहाँ ल्याइएको थियो । अहिलेसम्म औषधीको १ लाख र बेडको ३ लाख गरेर ४ लाख रुपैयाँ भएपनि बिरामीले तिर्न सक्ने अवस्था थिएन । बेड चार्ज छोडेर अन्य खर्च मात्रै तिरेर बिरामी लिएर जान भनेका थियौँ । २५ गते पैँसा दिने गण्डक प्रहरीको रोहबरमा सहमति भएको थियो ।’

उनले थपे, ‘उनीसँग कुरुवा बस्ने नाबागिलाई पनि नबसाउन आग्रह गरेका थियौँ, केटा र केटीबिच पहिलैदेखि सम्बन्ध रहेको थियो ।’ कुर्मीका अनुसार घटना अस्पतालमा नभएर बाहिर भएको हो । प्रहरीमा उजुरी दिएपछि केटालाई आफै ल्याएर प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए । आरोपी युवकलाई कामबाटसमेत निकालीसकेको उनको भनाइ छ । 

Back to top