बारा २८ भदौ । थारु कल्याणकारीणी सभा (थाकस) बारामा अनियमितता बढेको भन्दै जिल्लाका थारु समुदायका अगुवाहरुले कलैयामा रहेको थाकस भवनमा तालाबन्दी गरेका छन ।
थारु कल्याणकारीणी सभा बाराका पदाधिकारीहरुको गलत रबैयाले थाकस बदनाम भएको बताइएको छ ।
थाकस बाराका सभापती राप्रसाद चौधरी, सचिव यादवकृष्ण चौधरी तथा कोषाध्यक्ष बासु चौधरीको अनियमितताका कारण थाकस बाराको भवनमा ताल्चा लगाउन आफूहरु बाध्य भएको कोल्हवीका थारु अगुवा रामचन्द्र चौधरीले बताए ।
थाकसले बारामा थारु छात्राबासको लागि भन्दै निमार्ण गरेको भवनको कोठा गैह्छात्रालाई उपभोग गर्न दिइएको अर्का थारु अगुवा भुवन थारुको भनाइ छ ।
उहाँका अनुसार थाकस बारा मातहातको भवनमा १४ वटा आवाशीय कोठा र एउटा हल कोठासहित १५ वटा कोठा रहेका छन ।
ती कोठाहरु मध्ये अधिकांश भाडामा लगाइएको भए पनि त्यसको आर्थिक कारोबारको अभिलेख भने राखिएको छैन ।
भाडामा लगाइएको कोठाको बहाल बापतको रकम कसैले पनि नतिरेको भन्दै थाकस बाराका सभापती रामप्रसाद चौधरीले गैह्जिम्मेवार जवाफ दिएकोले बाध्य भएर भवनमा ताल्चा लगाएको उहाँले बताए ।
थाकसको सभापती, सचिव तथा कोषाध्यक्ष सबै राजनीतिक रुपमा नेपाली काँग्रेस पार्टीका सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरी निकट मानिन्छन ।
मन्त्री चौधरीकै इसारामा थाकस पदाधिकारी तथा सदस्य चयन हुदै आएको र उनीहरुले मनोमानी गर्ने गरेको जिल्लाका अर्का थारु अगुवा रुपलाल चौधरीले बताऐ ।
थाकस कहिल्यै पनि थारु समुदायको संस्थाको रुपमा रहेन रुपलालले भन्नुभएको छ । उहाँका अनुसार थाकस बारा केही व्यक्तिहरुको राजनीतिक गर्ने अखडाको रुपमा रहेको छ ।
उहाँले मनोमानी तरिकाले संस्था चलाएकाले थाकसको हाल दुर्दसा भएको पनि बताए । थाकसका अध्यक्ष रामप्रसाद चौधरी शिक्षक पेसामा हुुनुहुन्छ भने सचिव कलैयामा व्यापार गरेर बस्दै आउनुभएको छ ।
त्यसैगरी कोषाध्यक्ष बासु चौधरी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कोल्हवी नगरपालिक वडा नम्बर ५ को वडा अध्यक्षमा पराजित हुनुभएको थियो ।