बारा । बारा जिल्लाका सबै १६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै स्थानीय तहहरूले आगामी वर्षका लागि विकासको प्राथमिकता र बजेट सार्वजनिक गरेका हुन्।
यस वर्षका नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ।
जिल्लाका दुई उपमहानगरपालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिका ले सबैभन्दा ठूलो १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्यसपछि कलैया उपमहानगरपालिका ले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ।
नगरपालिकाहरूमध्ये निजगढ नगरपालिका ले १ अर्ब १० करोड रुपैयाँको बजेटसहित अग्रस्थानमा रहेको छ। त्यसैगरी महागढीमाई नगरपालिका ले ७२ करोड ८२ लाख रुपैयाँ, कोल्हवी नगरपालिका ले ७१ करोड ६६ लाख रुपैयाँ, सिम्रौनगढ नगरपालिका ले ६१ करोड ६३ लाख रुपैयाँ तथा पचरौता नगरपालिका ले ६१ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।
गाउँपालिकामध्ये करैयामाई गाउँपालिका ले सबैभन्दा ठूलो ४५ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ। सुवर्ण गाउँपालिका ले ४३ करोड २६ लाख रुपैयाँ, प्रसौनी गाउँपालिका ले ४१ करोड ३७ लाख रुपैयाँ तथा आदर्श कोतवाल गाउँपालिका ले ४१ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
त्यसैगरी बारागढी गाउँपालिका ले ३९ करोड ७७ लाख रुपैयाँ, देवताल गाउँपालिका ले ३९ करोड ७० लाख रुपैयाँ, फेटा गाउँपालिका ले ३९ करोड १६ लाख रुपैयाँ, परवानीपुर गाउँपालिका ले ३६ करोड ६३ लाख रुपैयाँ तथा विश्रामपुर गाउँपालिका ले ३५ करोड ५१ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्।
स्थानीय तहहरूले सार्वजनिक गरेका नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, आधारभूत सेवा विस्तार, पूर्वाधार विकास, स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन तथा नागरिकलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन्।
स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत समग्र जिल्लाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।