×

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश तथा वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वीरगञ्जमा ‘रोजगार मेला–२०८३ (Job Fair 2083)’ आयोजना हुने भएको छ। आयोजकहरूले यसपटकको रोजगार मेला परम्परागत शैलीभन्दा फरक र श्रम बजारको वास्तविक आवश्यकता केन्द्रित हुने बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले मधेश प्रदेशमा गरिएको कौशल आवश्यकता मूल्याङ्कन तथा श्रम बजार विश्लेषणको तथ्यांकका आधारमा रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। मेलाको मुख्य उद्देश्य रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच रहेको सीप तथा अवसरको खाडललाई कम गर्दै दक्ष जनशक्तिलाई रोजगारीसँग जोड्नु रहेको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपालमा बेरोजगारी अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको बताए।

उनले देशमा सबैलाई चाहेजस्तो रोजगारी उपलब्ध गराउन चुनौतीपूर्ण अवस्था रहे पनि यस्ता कार्यक्रममार्फत युवालाई मार्गदर्शन गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे। रोजगार मेलालाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहभागिताका लागि उनले आग्रहसमेत गरे।

कार्यक्रमका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका सहसचिव अनुप अग्रवालले संघले विगतदेखि नै स्वरोजगार, सीप विकास तथा रोजगारी प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले यसपटक अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको सहयोगमा अझ व्यापक र व्यवस्थित रूपमा रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार रोजगार मेलाले मधेश प्रदेश मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारसम्म दक्ष जनशक्ति पुग्न सहयोग गर्नेछ भने रोजगारदातालाई पनि आवश्यक जनशक्ति सहज रूपमा उपलब्ध हुनेछ।

पत्रकार सम्मेलनमा वक्ताहरूले उद्योग, व्यापार, सेवा, यातायात तथा प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको भए पनि आवश्यक सीप र कार्य अनुशासन भएका जनशक्ति अभाव रहेको बताए। साथै, युवाहरू, विशेषगरी महिला तथा विपन्न वर्गलाई श्रम बजारको सूचना, करियर परामर्श तथा रोजगारीका अवसर प्राप्त गर्न अझै कठिनाइ भइरहेको उनीहरूको भनाइ थियो।

उनीहरूले रोजगारदाता, तालिम प्रदायक संस्था तथा रोजगार सेवा केन्द्रबीच प्रभावकारी समन्वयको अभाव रहेको र धेरै कम्पनीहरूले सार्वजनिक सूचना नै जारी नगरी कर्मचारी भर्ना गर्ने प्रवृत्ति रहेको उल्लेख गरे।

आयोजकका अनुसार रोजगार मेलामा रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायहरू एउटै स्थानमा सहभागी हुनेछन्। मेलामा रिक्त पदसम्बन्धी जानकारी, आवेदन दर्ता, उम्मेदवार छनोट तथा मूल्यांकन, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिससमेत गरिनेछ।

रोजगार मेला अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपाल, रोजगार सेवा केन्द्र, वीरगञ्ज महानगरपालिका,नेतृत्व विकास संस्थान (LDI) तथा मानव संसाधन समाज नेपाल – मधेश च्याप्टरको सहकार्यमा आयोजना हुने जनाइएको छ।

आयोजकहरूले मधेश प्रदेशमा रोजगारीको खोजीमा रहेका युवा तथा दक्ष जनशक्ति आवश्यक पर्ने उद्योग–व्यवसायलाई मेलामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। रोजगारदाता संस्था, उपलब्ध रोजगारीका अवसर तथा दर्ता प्रक्रियासम्बन्धी विस्तृत जानकारी निकट भविष्यमै सार्वजनिक गरिने पनि जानकारी दिइएको छ।

कार्यक्रमको अन्त्यमा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गर्दै संघले विगत केही वर्षदेखि निरन्तर रूपमा रोजगारी सिर्जना र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। आगामी असार २१ गते आयोजना हुने रोजगार मेला त्यसैको निरन्तरता भएको बताउँदै उनले समाजबाट बेरोजगारी न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनको सहजीकरण मनोज उपाध्यायले गरेका थिए।

Back to top