वीरगञ्ज । मुस्लिम समुदायको धार्मिक पर्व मोहरम (दाहा) को अवसरमा वीरगञ्जमा शुक्रबार दाहा ताजिया जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वीरगञ्जका बिभिन्न टोल लगायत नयाँटोल मुर्ली–१२ तथा १३ दाहा कमिटीको आयोजनामा निकालिएको जुलुस मुर्ली चोकबाट सुरु भई घण्टाघरसम्म पुगेको थियो।
धार्मिक आस्था र परम्पराअनुसार निकालिएको ताजिया जुलुसमा मुस्लिम समुदायका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत धार्मिक विधिअनुसार ताजिया प्रदर्शन गर्दै मोहरम पर्व मनाएका थिए।
जुलुसलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षाकर्मीको निगरानीमा कुनै अप्रिय घटना बिना नै जुलुस सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
मोहरम पर्व इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्वमध्ये एक हो। यस अवसरमा इमाम हुसैन र करबलाको ऐतिहासिक घटनाको स्मरण गर्दै विभिन्न स्थानमा ताजिया जुलुस निकाल्ने परम्परा रहेको छ।
वीरगञ्जमा प्रत्येक वर्षझैं यस वर्ष पनि मोहरम (दाहा) पर्व श्रद्धा, धार्मिक आस्था र सामुदायिक सद्भावका साथ मनाइएको छ।