×

वीरगञ्ज, १२ बैशाख । नेपाली कांग्रेसले उम्मेदवारीको अन्तिम दिनसम्म पनि उपमेयरको टुंगो लगाएको छैन । यो समाचार तयार पार्दासम्म पनि नेपाली कांग्रेसबाट उपमेयरको टुंगो नलागेको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिँह क्षेत्रीले यात्रा डेलीलाई बताए । उनले भने, ‘अहिलेसम्म कुनै पत्र आएको छैन । वीरगञ्ज महानगर समितिले १३ जनाको नाम सिफारिस गरीसकेका छौँ । माथिबाट अहिलेसम्म कुनै नआउँदा कसले पाउने भन्न सकिने अवस्था छैन ।’ 


नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलमले उपमेयरको टिकट पाउने बजारमा चर्चा चलेपनि टुंगो भने लाग्न सकेको छैन । समाचार तयार पार्दासम्म निश्चित भने भइसकेको छैन । उपप्रमुखका लागि नेपाली कांग्रेस पर्साले मेयरका आकांक्षीहरुको नाम समेत सिफारिस गरिदिएको छ । पार्टीभित्र विवाद नहोस् भन्नका लागि मेयरका आकांक्षीहरुको पनि उपमेयरमा नाम सिफारिस गरिदिएको महानगर समितिका सभापति मणिन्द्रलाल नेपालीले बताए । 

तर यता मेयरका आकांक्षी नरेन्द्र साहले भने उपमेयरमा नाम नपठाउन आग्रह गरेका थिए । यस्तै मेयरमै दावेदारी गरीरहेका प्रकाश उपाध्यायको पनि उपमेयरमा नाम पठाइएको छ ।

निवर्तमान उपमेयर शान्ति कार्की, काँग्रेस जिल्ला सचिव इम्तियाज आलम, पुर्वजिल्ला उपसभापतिद्वय प्रकाश उपाध्याय र राजु गुप्ता, क्षेत्रीयसभापतिद्वय अरविन्द गुप्ता र महम्मद शाहबुद्धिन, पूर्व क्षेत्रीयसभापति विजय सर्राफ, पुर्व नगर सभापति भोला प्रसाद कलवार, नरेन्द्र साहको नाम सिफारिस गरिएको नगर उपसभापति सन्तोष गुप्ताले जानकारी दिए ।
यस्तै महिला नेतृहरु डाक्टर सुष्मा तिवारी, रुपा श्रेष्ठ, विद्या श्रेष्ठ र किरण सरकारको नाम पनि उपमेयरमा सिफारिस गरिएको गुप्ताले बताए । 

Back to top