×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगीले नेकपा एमाले परित्याग गर्ने भएका छन् । सरावगीले पार्टीबाट परित्याग गर्ने तयारी गरीरहेका छन् । 

नेकपा एमालेमा सल्लाहकारको भूमिकामा रहेका सरावगीले अहिले तत्कालै कुनै पार्टीमा प्रवेश गर्ने मनसाय बनाएका छैनन् । कामकाजी भूमिका खोजेका सरावगी सल्लाहकार पदबाट सन्तुष्ट नभएको हुन सक्ने बुझिएको छ । 

साथै भर्खरै सम्पन्न नेकपा एमाले पर्साको निर्वाचनमा पनि आफ्नो पक्षका पदाधिकारी तथा सदस्यहरु पराजित भएपछि उनले पार्टीबाट राजीनामा दिने मनसाय बनाएको उनी निकट स्रोतले जनाएको छ । यात्रा डेलीसँगको संवादमा सरावगीले भने, ‘एमाले छोड्ने कुरा पक्का हो, तर अरु कुनै पार्टीमा जाने कुरा अहिले निश्चित छैन । अब सक्रिय राजनीतिमा नरहने विचारमा छु ।’ 

जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव लगायतका नेताहरुले भेट्न र पार्टीमा आउन आग्रह गरीरहेको भएपनि अहिले तत्कालै कुनै पार्टीमा जाने सोच नभएको सरावगीले यात्रा डेलीलाई बताए । 

स्थानीय तहको प्रथम निर्वाचित मेयर तथा ठूलो जनमत आफ्नो पक्षमा हुँदा पनि पार्टीले सम्मानजनक व्यवहार र जिम्मेवारी नदिएको सरावगीको आशय छ । पार्टी परित्याग गर्ने निर्णयमा सरावगी यत्तिकै पुगेका हुन् भनेर कम आँक्न सकिने अवस्था भने छैन । किनभने सरावगी व्यवसायको पृष्ठभूमिका भएपनि स्थानीय तह प्रमुख भएर काम गर्दा उनी राजनीतिका पनि चतुर खेलाडी भइसकेका छन् । 

देशमा संघीयता आएसँगै पहिलो पटक भएको स्थानीय तहको निर्वाचन अघि २०७३ चैत ६ गते सरावगीले संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेसँगै टिकट पाएर उनी वीरगञ्ज महानगरको पहिलो मेयरका रुपमा १९ हजार ३९३ मत पाएर निर्वाचित भएका थिए । उनले २१४ मतको झिनो अन्तरले नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार द्विवेदीलाई पराजित गरेका थिए । त्यतिबेला १२ हजार १६५ मत पाएर तेस्रो स्थानमा रहेका राजेशमान सिंह अहिले वीरगञ्ज महानगरका प्रमुख छन् । 

स्थानीय तहको दोस्रो निर्वाचन नजिकिदै गर्दा जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाउने छाँटकाट देखेपछि २८ फागुन २०७८ मा सरावगी नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई पार्टी प्रवेश गराएका थिए । अन्तिम समयमा पार्टी प्रवेश गरेर टिकट पाएका सरावगी राजेशमान सिंहसँग २२ हजार ४४४ मतको फराकिलो अन्तरले पराजित भएका थिए । सिंहले ४६ हजार २१५ मत पाउँदा सरावगीले २३ हजार ६७१ मत पाएका थिए । 
 

Back to top