×

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

जसपा विभाजनपछि आज काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको बताए । ‘नयाँ दल दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाई लड्छौँ ।’

उनले नेताहरूको व्यक्तिगत महत्त्वाकाङ्क्षाले पार्टी विभाजन हुने अवस्था आएको बताए । ‘उनीहरूको महत्त्वाकाङ्क्षाले संविधान, लोकतन्त्र, पहिचानको आन्दोलन र मुद्दा धरापमा पर्ने सम्भावना बढेको छ । तर, हामी त्यसो हुन दिने छैनौँ,’ उनले भने ।

उनले जसपाले सरकार ढाल्न लागेको हल्ला सत्य नभएको तर्क गरे । ‘त्यो कपोलकल्पित अफवाह मात्रै हो। यति हुँदाहुँदै पनि हामी यही सरकारमै रहन्छौँ । यो सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ । 

उनले अब परिस्थिति कसरी अघि बढ्छ, त्यो हेरेर कदम चालिने बताए । ‘जस्तोसुकै परिस्थितिमा पनि हामी दह्रोगरी सङ्घीयता, गणतन्त्र, समावेशिताको पक्षमा उभिनेछौँ, परिवर्तनको मुद्दालाई निस्तेज हुने दिनेछौँ, यादवले भने, ‘हाम्रो पार्टी कुनै पनि अवस्थामा लोकतन्त्र र सीमान्तकृत समुदायको पक्षमा लडिरहनेछ ।’

उनले पार्टी विभाजनको हल्ला चलाइए पनि पार्टीको केन्द्रीय समितिमा दुई तिहाइ र  कार्यकारिणी समितिमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरे । ‘पाँच सात जना सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर पार्टी फुटाएको प्रचार गरियो । तर, उनीहरूसँग कुनै पनि जनधार छैन,’ यादवले भने, ‘पार्टी अझ सुदृढ भएर जान्छ ।

आफूले अमेरिका जानु अघि कार्यवाहक अध्यक्ष दिएर गएको र अहिले उनैले पार्टी फुटाएको बताए । ‘त्यस्ता अतृप्त आत्माहरू जम्मा गरेर पार्टी बन्दैन,’ उनले भने । यादव अमेरिका भ्रमणमा रहेकै बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका हुन् । 

पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा पाँच जना मात्रै सांसद छन् । जसपा विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर मान्यता दिइसकेको छ ।

Back to top