×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा अगुवा कार्यकर्ता भेला बुधवार सम्पन्न भएको छ ।

जसपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनलाल चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम् वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा जिल्ला समन्वय समितिको सभाकक्षमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका मेयर सिंहले उपेन्द्र यादवको जसपा नेपाल भन्दा आफूहरूको पार्टी प्रत्येक जिल्लामा शक्तिशाली र सबल रहने बताए । त्यसका लागि सङ्गठन निर्माणमा आजैदेखि सशक्त भएर लाग्न नेता कार्यकर्ताहरूलाई उनले निर्देशन पनि दिए ।

जसपा नेपाललाई उपेन्द्र यादवले पार्टीलाई एउटा प्राइभेट कम्पनी लिमिटेडेका रूपमा चलाएकोले आफूहरूले त्यसको विद्रोह गरेर नयाँ दल बनाएको मेयर सिंहले बताए । उपेन्द्र यादवले रकम लिएर मन्त्री बनाउने, प्रदेश सरकारका मन्त्रालयका योजनाहरू पहिल्यै कमिसन लिएर पालिकाहरूलाई वितरण गर्ने, जिल्लामा पार्टीभित्र कुनै विवाद हुँदा समाधानको सट्टा आफूले नै गुटउपगुट बनाएर हिँड्ने जस्ता अराजकता मच्चाएको आरोप पनि उनले लगाए ।

नयाँ दल जसपालाई अब नयाँ शीराबाट अगाडि बढाउने भन्दै उनले यो दलमा सबै तहका नेता कार्यकर्ताको समान मूल्याङ्कन गरिने भएकाले आफूहरूको दलमा आबद्ध हुन उनले आह्वान पनि गरे ।

जसपाका युवा नेता ईश्वरचन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेको उक्त मेलामा जिल्ला समन्वय समिति पर्साका सभापति  निरञ्जन साह सोनार (अजय सर्राफ), पूर्व प्रदेशसभा सदस्यहरू जनत अन्सारी, भीमा यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, वीरगञ्ज महानगरपालिका – ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार , वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारी , वडा नम्बर २९ का धर्मेन्द्र चौधरी, वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव, वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद, वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यहरू खैरुदिन मियाँ, रबुल्सन खातुन र कलावती देवी, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमका साथै जसपाका नेता कार्यकर्ताहरूको पनि सहभागिता रहेको जसपाका नेता उमेशलाल सहनीले जानकारी दिए ।

Back to top