×

वीरगञ्ज, ९ बैशाख ।  वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनीधिले राजीनामा दिनैपर्ने सर्वाेच्चको निर्णयका कारण सरावगीले पदबाट राजीनामा दिएका हुन् । 

सरावगीले महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई बिहिवार बुझाएको राजीनामा शुक्रवार स्विकृत भएको छ । नेकपा एमालेबाट पुनः मेयरका उम्मेदवारसमेत रहेका सरावगीले निर्वाचन आयोगको आचारसंहिताअनुसार मनोनयन दर्ता हुने समयभन्दा अगाडी राजीनामा बुझाएका हुन् ।

पुनः उम्मेदवारी दिने व्यक्तिले पदबाट राजीनामा दिनुपर्ने बाध्यतात्मक अवस्थामा राजीनामा दिएर सरावगीले उच्च नैतिकता प्रदर्शन गरेको भन्नु भ्रमको खेती भएको जसपाका नेता सञ्जिव यादव बताउँछन् ।

बाध्यात्मक अवस्थामा राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको भन्दै प्रचारबाजी गर्नु राजनीतिक स्टन्टबाहेक अरु केही नभएको वीरगञ्जका महादेव प्रसाद कुर्मीको बुझाई छ । यदि सरावगीसँग नैतिकता भएको भए नेकपा एमालेमा प्रवेश गरेकै दिन पदबाट राजीनामा दिनुपर्ने वीरगञ्ज निवासी श्रीकान्त तेली बताउँछन् ।

मधेशबादी दल र मधेशी जनताको मतबाट जितेर मधेशविरोधी दलमा गएर पनि उक्त पदमा रहीरहन र सरकारी सेवा सुविधा प्रयोग गरीरहने व्यक्ति नैतिकहिन भएको वीरगञ्जको उदयपुरघुर्मी निवासी शंकरलाल कानुको भनाई छ । 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।  
 

Back to top