×

वीरगञ्ज । विद्युत आपूर्तिमा देखिएको समस्याका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले ध्यानाकर्षण गराएको छ । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रबाट हुने प्रसारणमा अनियमितता हुँदा जनता प्रत्यक्ष मारमा परेको रास्वपाले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

रास्वपा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सभापती सोयब अन्वरको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेको टोलीले विद्युत आपूर्ति नियमित गर्न दबाब दिएको छ । विद्युत आपूर्ति नियमित नहुँदा विद्यार्थीसँगै व्यवसायी तथा आम नागरिकले समस्या खेप्नु परेको रास्वपा पर्साको क्षेत्रीय समितिले विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख अवधेश कुमार दुवेलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

वीरगञ्ज र यस आसपासका क्षेत्रमा विद्युत आपूर्तीमा भइरहेको समस्या तत्काल समधान नगरिए आन्दोलनमा उत्रिने रास्वपा वीरगञ्जका नेता महादेव प्रसाद कुर्मीले चेतावनी दिए । गर्मी सुरु भएसँगै वीरगञ्ज र यस आसपासको क्षेत्रमा पटक पटक बिजुलीको लाइन कट्ने समस्याले यहाँको जनजिवन नै कष्टकर बनेको उनले बताए । 

अघोषित लोडसेडिङले नागरिकसँगै उद्योगहरु पनि संकटमा परेको भन्दै रास्वपाले विद्युत आपूर्तीमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ । यदि विद्युत आपूर्तीमा देखिएको अघोषित लोडसेडिङको समस्या तत्काल समाधान नगरिए प्राधिकरण विरुद्ध रास्वपा आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मीले बताए ।

विद्युत प्राधिकरणमा ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा रास्वपाका मधेस प्रदेश सदस्य मुकेश कुमार कुर्मी, शिक्षा विभाग उपप्रमुख सोनालाल पटेल, सञ्चार विभागका सदस्य प्रभात चौरसिया, खेलकुद विभाग सदस्य पुन्देश्वर यादव, नेताहरु दीपराज कुर्मी, राम आर्य, प्रकाश साह, राजनन्दन कलवार, उमेश साह, कृष्ण पासावान लगायतको सहभागीता थियो ।

May be an image of text

Back to top