×

वीरगञ्ज, २२ चैत ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु ६० वर्षदेखि मधेशमै बसेको हुँदा भैँसीको पिठियुँमा चढेर भैँसी चराउन जानेको बताएका छन् ।

नेकपा एमाले पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘म ६० वर्षदेखि मधेशमै बसेको छु । मलाई भैँसी चराउन आउँछ, चापाकल गाढ्न आउँछ ।’ आफुलाई मधेशविरोधी भन्नेहरुलाई इंकित गर्दै अध्यक्ष ओलीले मधेशसँगै पहाड, हिमाल, तराई सबैको विकास भएपछि मात्रै एमालेको एजेण्डा सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाउने बताए ।

वीरगञ्जलाई रिंगरोडसहितको नमुना र विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । उनले भने, ‘दुर्गम ठाउँमा पनि हेली प्याड हुनुपर्छ, चौडा र सुविधायुक्त बाटोहरु निर्माण गर्नुपर्छ । अनि बल्ल विकास हुन सक्छ । यो विकास एमाले बाहेक कसैले गर्दैन ।’

विगतमा ढल्केबरदेखि जनकपुरसम्म साढे २ घण्टा लगाएर जाँदा गाडीसमेत बिग्रिएको स्मरण गर्दै ओलीले भने, ‘त्यतिबेला साढे २ घण्टा लाग्ने बाटो मेरै पालामा निर्माण गरेर अहिले आधा घण्टामै ढल्केबरदेखि जनकपुर जान सकिन्छ ।’ 

जलस्रोतको धनी देशका बासिन्दा भएकाले यहाँ आफुले बाल्नेदेखि अस्पताल, उद्योगधन्दा लगायतमा पनि प्रयोग गरेर बाहिर निर्यात गर्नुपर्ने काम पनि एमालेले नै गर्ने ओलीको दावी छ । विद्युतिकरणमार्फत देशलाई आधुनिकीकरण गरेर डिजिटल नेपाल बनाउने काम पनि एमालेले नै गर्ने हुँदा आउँदो निर्वाचनमा पुनः एमालेलाई भारी मतका साथ बिजयी बनाउन पनि ओलीले आग्रह गरेका छन् ।

राष्ट्र निर्माणको अभियानमा सामेल हुन र कुनै पनि पार्टीहरुमा नअलमलिएर एमालेमा आउन अध्यक्ष ओलीले आग्रह गरेका हुन् । 

Back to top