×

वीरगञ्जमा दसैं मेला लागेको छ । घटस्थापनाको दिनदेखि नै वीरगञ्जमा मेला लागेको हो ।  वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माई मन्दिरको मेला शुभारम्भ भएको छ ।

घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा हजारौं श्रद्धालु भक्तजनको भीड देखिन्छ । अहिले घण्टाघर छेउछाउ र गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ ।

आइतवार फूलपाति र सोमवार आज बलिदान भएको छ । यो दुई दिन नवरात्रको महारात्रिको रूपमा पनि मानिने चलन छ । शनिवार राति गहवा माईको खोइँच भर्ने श्रद्धालु भक्तजन पनि रातिदेखि नै मन्दिर परिसरमा लाइन लागेको देखियो ।

मेलामा बारा, पर्सा, रौतहट, बिहारलगायत क्षेत्रबाट सामान बिक्री गर्ने व्यवसायीहरू आएका छन् । मेलाको क्रममा जिलेबी, चाट, पानीपुरी, खेलसामग्री, शृङ्गार सामान, जुत्ता, चप्पल, कपडालगायत बिक्री भइरहेको छ ।

मेलालाई मध्यनजर गर्दै विपी पार्कमा रमाइलो मेला आयोजना गरिएको छ भने खेल तमाशा र झुलुवा पनि राखिएको छ । गहवा माई मन्दिर अगाडिको सडकलाई नवनिर्वाचित मेयर राजेशमान सिंहले सौन्दर्यीकरण गर्न करीब ९० लाख रुपियाँ खर्च गरेको बुझिएको छ ।

मन्दिर परिसर वरपर झिलीमिली बत्तीले दुलहीझै सिंगारिएको र यसपालि वीरगंजको मेलाको रौनक श्रद्धालु भक्तजनलाई निकै मनमोहन लागेको प्रतिक्रिया दिएका छन् । प्रसिद्ध शक्तिपिठ माइस्थानको गहवामाई मन्दिरमा दसैंको आज पूजापाठका साथै मेला लाग्ने गर्दछ । 

Back to top