×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विभिन्न दुई स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगञ्जका फरकफरक स्थानमा आँखा तथा दाँत शिविर सम्पन्न भएको हो । 

वडा प्रहरी कार्यालय श्रीपुर, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरसँगै सामुदायिक आँखा अस्पताल वीरगञ्ज, प्रभु हस्पिटल र रुंगटा वेलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सम्पन्न भएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ मनियारीस्थित दलित बस्तीमा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा शिविर सम्पन्न भएको हो । ४० घरधुरी रहेको मनियारीको दलित बस्तीमा आयोजित शिविरमा १५० जनाको स्वास्थ्य चेकजाँच गरिएको सामुदायिक आँखा अस्पताल वीरगञ्जका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

उनकाअनुसार शिविरमा बस्तीका ज्येष्ठ नागरिक, महिला, पुरुष, बालबालिका लगायतको चेकजाँच गरिएको हो । त्यस्तै रानीघाटमा सम्पन्न शिविरमा पनि १५० जनाको स्वास्थय चेकजाँच गरिएको छ । शिविरको क्रममा निशुल्क चेकजाँचसँगै आवश्यकताअनुसार निशुल्क औषधी पनि वितरण गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव कुलनारायण प्रधानले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत दलित बस्तीमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । दलित तथा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर पर्सा प्रहरीले शान्ती सुरक्षा अपराध नियन्त्रणसँगै अन्य सामाजिक कार्यलाई पनि निरन्तरता दिने प्रहरी उपरीक्षक ढुङ्गेलको भनाई छ । 

उनले भने, ‘हामीले विशेष गरी राज्यको सेवा सुविधाबाट टाढा रहेका समुदायलाई सेवा दिने योजना बनाएका छौँ । त्यसैअनुरुप आज पनि दलित बस्तीमै निशुल्क स्वास्थ्य शिविर गरिएको हो । आगामी दिनमा अरु ठाउँका बस्तीमा पनि हामी सेवामुलक सामाजिक कामलाई निरन्तरता दिनेछौँ ।’

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामी, अपटोम प्रभात चौरसिया, प्रभु हस्पिटलका डा. सरोज कुमार साह लगायतको टोलीले चेकजाँच गरेको थियो । 

शिविरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय चौरसिया, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्ग, प्रभु हस्पिटलका व्यवस्थापक दिलिपराज कार्की, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top