×

वीरगञ्ज ११ चैत । पर्सा जिल्लामा मौसमीसँगसँगै चुनावी सरगर्मी पनि बढेको छ । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि २ महिनाभन्दा पनि कम समय बाँकी रहँदा राजनीति दलहरुले आफ्नो गतिविधि बढाएका छन् । चुनावी अभियान लिएर दलहरु घोषित र अघोषित रुपमा घर-घर पस्न थालेका छन् ।

निर्वाचनको मिति घोषणासँगै पहिलादेखि गर्माएको पर्साको राजनीति निर्वाचन आयोगले चुनावी कार्यक्रमहरु घोषणा गरेदेखि थप तातेको छ । आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवार दर्ता गर्ने मिति तोएको छ ।

मिति तोकिएसँगै आफ्नो उम्मेदवारी सुरक्षित गर्न आकंक्षिहरु पनि पार्टीको ठूलो नेताहरुको घरमा पुग्न थालेका छन् । टिकटका लागि उम्मेदवारहरुले प्रभावशाली नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा ल्याउनेदेखि सामाजिक सञ्जालमा समर्थकहरुबाट आफ्नो तारिफ गराइरहेका छन् । एउटा पदका लागि पार्टीभित्र आधा दर्जनसम्म उम्मेदवारहरुले दावी गरिरहेको अवस्था छ ।

मधेश प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र वीरगञ्जको मेयर पदको टिकट पाउन पनि यसै किसिमको दौडधुप भइरहेको छ । मुख्यत: नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी बीच प्रतिश्पर्धा हुने वीरगञ्जमा कांग्रेस बाहेकका दुई दलले आ-आफ्नो उम्मेदवार लगभग टुङ्गो लगाइसकेका छन् । तर, कांग्रेसमा वीरगञ्जको मेयरको टिकटका तीव्र प्रतिश्पर्धा देखिएको छ । कांग्रेसमा आधा दर्जन जति नेताहरुले मेयरको टिकटका लागि दावेदारी गरिरहेका छन् ।

टिकटका लागि नेताहरुले आ-आफ्नो किसिमले लबिङ गरिरहेका छन् । गत निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालसँग २ हजार १ सय ९६ मतको अन्तरले दोस्रो भएको कांग्रेसलाई आफूले पहिलो बनाउने सबै उम्मेदवारहरुको दावी छ । उम्मेदवारी दावी गर्नेमा युवादेखि लामो राजनीतिक अनुभव बटुलेका पाका नेता पनि छन् । आकांक्षीहरुमध्ये केहिले खुला रुपमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही अघोषित रुपमा आफ्नो अभियानलाई अगाडि बढाइरहेका छन् ।  

नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचनमा हालका सत्ता साझेदारहरुसँग गठबन्धन गर्ने बताईरहेपनि जिल्लाका नेता भने सँगै मिलेर निर्वाचन लड्ने पक्षमा छैनन् । त्यसैले पनि वीरगञ्जमा त्रिपक्षीय प्रतिश्पर्धा हुने आंकलन गरिएको छ । अर्कोतर्फ नेकपा एमालेले बहालवाला मेयर विजयकुमार सरावगी र जसपाले गत निर्वाचनमा तेस्रो भएका राजेशमान सिंहलाई उम्मेदवार बनाउने लगभाग घोषणा गरिसकेको कारण पनि कांग्रेसलाई उनीहरुकै टक्करको उम्मेदवार ल्याउने चुनौती थपिएको छ ।

अहिलेसम्म कांग्रेसबाट वीरगञ्ज महानगरको मेयरमा क्षेत्रीय प्रतिनिधि विजय सर्राफ, पूर्व जिल्ला सभापति र गत निर्वाचनमा दोस्रो नम्बर ल्याएका अजयकुमार दुवेद्धी, महाधिवेशन प्रतिनिधि नरेन्द्र साह, पूर्व जिल्ला उपसभापति प्रकाश उपाध्याय, नवकांग्रेसी युवा नेता कञ्चन झा र शिक्षाविद् एवम् नागरिक समाजका अगुवा प्रा. डा. दिपक शाक्यको चर्चा छ ।

आकांक्षीहरुमध्ये विजय सर्राफले आधिकारी रुपमा आफूलाई मेयरको उम्मेदवार घोषणा गरिसकेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा आफूलाई पार्टीको वीरगञ्ज महानगर कमिटिबाट मेयरको टिकटका लागि ‘ग्रिन सिग्नल’ पाएको बताउने गरेका छन् । त्यसैगरी नरेन्द्र साहले आफूलाई मेयरको उम्मेदवारका रुपमा केन्द्रीय सदस्यद्वय अजय चौरसिया, रमेश रिजालले र जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले अगाडि सारेको बताएका छन् । 

युवा नेता कञ्चन झाले आफूसँग कांग्रेसका महामन्त्री गगन थापा, पार्टीका पूर्व उपसभापति विमिलेन्द्र निधि र संविधानसभा सदस्य अनिल रुङ्गटाको साथ रहेको बताउँदै निश्चित रुपमा टिकट पाउने बताउने गरेको स्रोतको दावी छ । झाले त वीरगञ्जमा निर्वाचन प्रायोजनका लागि सचिवालयसमेत बनाइसकेका छन् । 

अर्कोतर्फ प्रकाश उपाध्याय र दिपक शाक्यलाई पनि सम्भावित उम्मेदवारका रुपमा देखिएको छ । त्यसैगरी पछिल्लो पटक मेयर लडेका अजय द्विवेदीले मात्र अन्य उम्मेदवारहरुलाई टक्कर दिन सक्ने बताउँदै कांग्रेसका कार्यकर्ताले पार्टीबाट उनलाई टिकट दिनुपर्ने जोड दिएका छन् ।

उम्मेदवारहरुमध्ये अजय द्विवेदी बाहेक कसैले पनि मेयरमा विजय सरावगी र राजेशमानलाई टक्कर दिने सम्भावना छैन । ३२ वटा वडा रहेको वीरगञ्ज जस्तो महत्वपूर्ण शहरमा नयाँ र अलोकप्रिय उम्मेदवार ल्याउन कांग्रेसको लागि घातक हुन सक्छ । कांग्रेसले यीमध्ये कसलाई उम्मेदवार बनाउँदै हेर्न बाँकी छ ।

Back to top