×

वीरगञ्ज, १ चैत । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा पर्साको ठोरी गाउँपालिकामा आयोजित कार्यक्रमका क्रममा एकजना बालिका बेहोस भएकी छन् ।

मंगलबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा ठोरीमा निकालिएको र्‍याली र त्यसपश्चात कार्यक्रममा आएका अतिथिहरुको स्वागतका लागि गाउँपालिका कार्यालयले विद्यार्थीहरुलाई लामो समयसम्म घाममा उभ्याएर राखेपछि गर्मिका कारण एकजना बालिका बेहोस भएकी हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र कञ्जुमर आई नेपालको सह-आयोजनामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठलगायतका अतिथिहरुको स्वागतका लागि र्‍यालीबाट फर्केका विद्यार्थीहरुलाई चर्को घाममा उभ्याईएको थियो । अतिथिका लागि बस्ने व्यवस्था गरिएपनि र्‍यालीबाट फर्केका विद्यार्थीलाई पानीसमेत नदिएर चर्को घाममै उभ्याउँदा स्थानीय सरस्वती माध्यमिकमा अध्यनरत बिना खत्री बेहोस भएको एकजना प्रत्यक्षदर्शीले बताए । खत्रीलाई विद्यार्थी र शिक्षकहरुको सहयोगमा उपचारका नजिकैको स्वास्थ्य चौकी लगिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बुझिएको छ ।

सार्वजनिक कार्यक्रममा आउने अतिथिहरुको स्वागतका लागि लामो समयसम्म घाममा उभ्याएर राख्दा विद्यार्थी बेहोस भएको यो पहिलो घटना होइन । यसअघि वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको मेयर कप खेलको उद्घाटन सत्रमा पनि विद्यार्थीलाई घाममा उभ्याइएको कारण उनीहरु बेहोस भएका थिए । अतिथिहरुका लागी पण्डाल, पंखा र पानीको व्यवस्थापन गरिएपनि विद्यार्थीलाई खुल्ला फिल्डमा चर्को घाम तल उभ्याउँदा आधा दर्जन विद्यार्थी बेहोस भएका थिए ।

विद्यार्थीलाई यसरी अतिथिको स्वागतका लागि प्रयोग गर्नु गलत भएको बाल अधिकारकर्मीहरु बताउँछन् । जिल्ला बाल सञ्जाल समन्वय समिति पर्साकी पूर्व अध्यक्ष सिमरन थापाका अनुसार विद्यार्थीहरुलाई यसरी घण्टौँसम्म अतिथिको स्वागत सत्कारमा प्रयोग गर्दा उनीहरुको पढाईका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकायलाई सचेत गराए पनि जिम्मेवार व्यक्तिहरुबाटै गल्ती दोहोरिने गरेको थापाको गुनासो छ । ‘विद्यार्थी र बालबालिकालाई सार्वजनिक कार्यक्रममा प्रयोग नगरौँ भनेर हामीले कयौँ पटक सरोकारवाला निकायलाई सचेत गराएका छौँ । तर, जिल्लाका जिम्मेवार व्यक्तिहरुले पनि यो कुरालाई बुझ्दैनन् । सार्वजनिक कार्यक्रममा सहभागिता देखाउन विद्यार्थी र बालबालिकालाई प्रयोग गरिहाल्छन ।’

Back to top